काठमाण्डौंः वीरगंजको नारायणी अस्पतालमा अहिले एक साथ ९ वटा डायलासिस मेसिन सञ्चालनमा आएपछि मिर्गौला रोगीहरूले सहज रुपमा सेवा पाएका छन् ।
विगतमा डायलासिस गर्नका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको र पालो कुर्दा कुर्दै कतिपय मिर्गौला रोगीहरूको ज्यान समेत जाने गरेको अवस्थामा अस्पतालमा लामो समय देखि बिग्रिएर थन्किएका २ वटा डायलासिस मेसिन मर्मत गरी सञ्चालनमा ल्याउनुको साथै स्वास्थ्य मन्त्रालयबाट प्राप्त थप एक नयाँ मेसिन जडान भएसँगै अहिले ९ वटा डायलासिस मेसिन सञ्चालनमा आएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरज सिंहले बताउनुभयो ।
कोरोना सङ्क्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला नारायणी अस्पतालमा रहेका डायलासिस मेसिन बिग्रिँदा मिर्गौला रोगीलाई समस्या भएको थियो । नारायणी अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टमा डा. वीरेन्द्र प्रधान नियुक्त भएसँगै बिग्रिएका मेसिनको मर्मत र स्वास्थ्य मन्त्रालयबाट थप एक मेसिन ल्याई डायलासिस सेवा सुरु गरेसँगै अहिले मिर्गौला रोगीहरूको सहज रुपमा डायलासिस भई रहेको छ ।
हाल डायलासिस कक्षमा थप जनशक्ति परिचालन गरी मासिक ५० जना मिर्गौला रोगीको सेवा दिने गृहकार्यमा अस्पताल जुटेको मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले बताउनुभयो ।
नारायणी अस्पतालमा अहिले बारा, पर्सा, रौतहटका मासिक ३५ जना भन्दा बढी मिर्गौला बिरामीहरूले डायलासिस सेवा लिँदै आएका छन् ।
मध्य तराईका सर्वसाधारण बिरामीहरूको एक मात्र उपचारको केन्द्रको रुपमा रहेको नारायणी अस्पतालमा हाल रहेको डायलासिस कक्ष साँघुरो भएको र डायलासिस कक्षका लागि छुटै भवन निर्माण गर्न सके थप सेवा उपलब्ध गराउन सकिने अस्पताल प्रशासनले जनाएको छ ।
नारायणी अस्पतालमा २०७१ असोज १३ बाट डायलासिस सेवा सुरु गरिएको हो । हाल डायलासिस गराउने बिरामी मध्ये अधिकांश पुरुष रहेको र ३० बर्ष देखि ८५ बर्ष उमेर समूहका मिर्गौला रोगीहरूको डायलासिस भई रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रधानले बताउनु भयो । सरकारले मिर्गौला रोगीहरूका लागि नारायणी अस्पतालमा निःशुल्क डायलासिस उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया