श्रावण ४, २०८२ आइतबार July 20, 2025

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म शिविरमा पाँच जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तर परीक्षण नगरिएका अन्य केही व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको शिविरका पूर्वसचिव युवराज साङ्पाङले बताउनुभयो ।

शिविरमा बढ्दै गएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनुभयो ।

यसैबीच शिविरका १० जना सङ्क्रमित परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (यूएनएसीआर) र विश्व लुथरन फेडरेशनको सहयोगमा चामल, तेललगायत खाद्यान्नसहित सरसफाइसम्बन्धी सामग्री प्रदान गरिएको बताइएको छ । पूर्वी मोरङको पथरी र दमकमा रहेको दुई शिविरमा करिब पाँच हजार भुटानी शरणार्थी बस्दै आएका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया