काठमाडौं: देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश नं १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। राति पनि यही मौसमी प्रणाली कायम रहने जनाइएको छ। भोली शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया