असार २३, २०८२ सोमबार July 7, 2025

संसद् विघटन ठिक वा बेठिक भन्ने छलफल नभई हस्ताक्षर फिर्ता भन्नुको अर्थ छैन : घनश्याम भुसाल (अन्तरवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोटेश्वरदेखि बालुवाटारसम्म तीव्र दौडधूपमा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ?

फागुन २८ मा केपी ओलीले वस्तुतः पार्टी विभाजनको घोषणा गर्नुभयो, त्यसकारण हामीले एकताको कुरा गर्‍यौं । र, राष्ट्रिय कार्यकर्ता भेला गर्‍यौं । त्यसबाट एकताका लागि हाम्रा प्रस्ताव अगाडि सार्‍य‍ौं । त्यसलाई ओलीजीले एकपछि अर्को गर्दै दुत्कार्दै, बद्नाम गर्दै जानुभयो । पछिल्लो दिनमा उहाँले फेरि संसद् विघटन गर्नुभयो । संसद् विघटन संसद्‍माथि र संसद्‍मार्फत् संविधानमाथिको आक्रमण हो भन्ने हामीलाई लाग्यो । पुस ५ गतेको विघटनको अर्कोरूपमा यो आयो भन्ने लाग्यो । त्यसपछि हामीले सम्पूर्ण हैसियतलाई दाउमा राखेर संसद् बचाउनका लागि उपाय खोज्यौं । र, शेरबहादुर देउवालाई समेत समर्थन गर्ने ठाउँमा पुग्यौं । त्यसपछि पनि हामीले संसद् विघटन गर्नु गलत थियो तर पार्टीलाई एकताबद्ध पार्नुपर्छ भन्यौँ । त्यो भनेको अदालतको निर्णयअनुसार जेठ २ मा जानुपर्छ भन्दै आयौं । आज जेठ २ मा जाने कुरा उहाँले गर्नुभएको छ । तर त्यो पनि खुला दिलले भन्नुभएको छैन । जेठ २ मा जाने हाम्रो माग, देशको राजनीतिक आवश्यकताले भन्दा पनि उहाँलाई अदालतले त्यहाँ पुर्‍याइदिएकोजस्तो गर्नुभएको छ । उहाँले अझै महसुस गरेजस्तो देखिँदैन । तर, अदालतले निर्णय गरिसकेपछि जे हुन्छ त्यसलाई कार्यान्वयन गरौंला, जेठ २ मा जाऔं भन्नेमा अनौपचारिक तहबाट सहमति गरेका थियौं । त्यसपछि छलफल सुरु गर्‍यौं । आठ–दस चरण नै छलफल भयो । तर, उहाँहरू क्रमश: त्यसबाट पनि पछि हट्नु भयो । त्यसपछि उहाँहरूले हस्ताक्षर फिर्ता गर्नुपर्छ भन्नेजस्ता शर्त ल्याउन थाल्नु भयो । त्यसले गर्दा यो रोकियो । अहिले गतिरोधमा नै छ । अहिले भएका भेटघाट गतिरोध फुकाउने कोसिस हुन् ।

ओलीपक्षसँग तपाईहरूले धेरैपटक संवाद गर्नुभयो । तर निकास निकाल्न सक्नुभएन है ?

पछिल्लो जुन वार्ता सुरु भयो, त्यहीबीचमा वार्ता टिमको संयोजक भीम रावललाई कारबाही गरेपछि हामीले औपचारिक वार्ता गर्दैनौं भनेका थियौं । उहाँहरूले औपचारिक वार्ताका लागि वातावरण बनाउन व्यक्तिगतरूपमा कुराकानी गरौं भन्नु भएको थियो । र, नमिलेका कुरा आज मिल्दैछ, भोलि मिल्दैछ भनेर प्रचार आतंक चलाउनु भयो । हाम्रो बटमलाइनमा मिलेमिलेजस्तो कुरा गर्ने फेरि नमिलाउने भयो । त्यसलाई अलमल्याउनका लागि मात्रै प्रयोग गर्नुभयो । जसले गर्दा निकास निस्किन सकेन ।

त्यसो भए आजका दिनमा एमालेको अन्तरविरोध झन् जटिल भएको हो ?

फागुन २८ गते देखि नै वस्तुतः ओलीजीले विभाजन गर्नुभयो भनेको थिएँ । उहाँले र उहाँका तर्फबाट कतिखेरै पनि एकताको कुरा गर्नुभएन । कतिखेरै पनि सहमति, मेलमिलापको कुरा गर्नुभएको छैन । उहाँका हरेक अभिव्यक्ति पार्टी विभाजनको पक्षमा छन् । तर, छलफलमा साथीहरूले एकता गर्नुपर्छ भनेर आउनु भएको छ । त्यो भावना ठिक छ तर त्यसअनुसारको तत्परता देखिएको छैन ।

आज पनि ओलीपक्षीय नेता र माधव नेपालबीच संवाद भएको थियो । त्यहाँ के कुराकानी भएको थियो ?

उहाँहरूले ‘हाम्रोबीचमा एकता छ, हामी मिल्यौं, एमाले एक ढिक्का छ भनेर एउटा वक्तव्य दिनुपर्‍यो’ (दुईजना नेताले) भन्ने प्रस्ताव ल्याउनु भएको थियो । माधवजीले ‘ठिक छ, त्यो वक्तव्य के हो ? कस्तो हो ? कार्यदलले नै ड्राफ्ट गरेर ल्याउनुस्, त्यो राम्रो हुन्छ’ भन्नु भयो । उहाँहरूले त्यो कार्यदल अहिले निष्क्रिय छ । त्यसलाई ब्युँत्याउन पनि दुईजना नेताको भेट हुन जरुरी छ भन्नु भयो । अनि माधवजीले ‘त्यसो भए कार्यदल ब्युँत्याउन भेट गर्ने हो भन्ने ओलीजीले भन्न पर्‍यो, तपाईंहरु ओलीजीसँग सल्लाह गरेर आउनुस्’ भन्नुभयो । त्यसपछि उहाँहरु जानु भयो ।

तपाईंहरूले बैठक रोक्नुस् भन्दाभन्दै ओली अगाडि बढ्नुभयो । अदालतको हस्ताक्षर फिर्ता नलिने एमाले हुन सक्दैन भनेर केन्द्रीय कमिटी बैठकबाटै भन्नुभएको छ नि ?

एउटा त, केपीजीले के भन्नुभयो भन्ने हामीलाई थाहा छैन । त्यो बैठक नै वैधानिक हैन भनेर हामीले सामूहिक रुपमा दुनियाँलाई जानकारी गराईसकेका छौं । उहाँले जुन बैठक भन्नुभयो त्यो एमालेको वैध बैठक होइन । त्यसपछि त्यस्तो बैठकबाट के निर्णय गर्नुभयो भन्ने चासो हामीले राखेका छैनौं ।

हस्ताक्षर फिर्ता लिन भनेर सोमबार पाँच बजेसम्मको अल्टिमेटम छ । त्यसपछि के हुन्छ ?

हामीले भनिसकेका छौं, संसद् विघटन गर्नु ठिक वा बेठिक भन्ने छलफल नभई हस्ताक्षरको कुरा गर्नु गलत हुन्छ, त्यसको कुनै अर्थ छैन । किनभने यत्तिकै हस्ताक्षर आएको होइन । उहाँले दुई–दुई पटक संसद् विघटन गर्नुभयो । संसद् विघटन गर्नु गलत हो । सांसदहरुले प्रधानमन्त्रीलाई धम्क्याउन अविश्वास प्रस्ताव लैजाने या त प्रधानमन्त्रीले आफ्नो सत्ता स्वार्थका लागि मनमौजी तरिकाले संसद् विघटन गर्ने विगत थियो । त्यही कारणले गर्दा हामी राजनीतिक अस्थिरताको दुष्चक्रबाट गुज्रेका थियौँ । स्थीरताका लागि अहिलेको संविधानमा नयाँ प्रावधान राखेका थियौं । लोकतान्त्रिक स्थीरताका साथ मुलुकले बाँच्नुपर्छ भनेर सोच्ने कुनै पनि नेपालीले नगर्ने काम प्रधानमन्त्रीले गर्नुभयो । त्यसअर्थ हामीले हस्ताक्षरको कदम उठाएका हौं ।

आजको दिनसम्मको विश्लेषण गर्दा एमाले एकता र विभाजन कुन नजिक छ ?

म त्यसरी भन्दिनँ । एमालेको हित, स्वार्थ, संकल्प र ओलीका संकल्प, हित, ईच्छा फरक भए । अन्तरविरोध यहाँ हो । त्यसो गर्दा एमाले, यसको सम्पूर्ण पार्टीपंक्ति, कार्यकर्ता, निर्माता, शुभचिन्तक एकता चाहन्छन् । एमाले विभाजन हुँदा धेरै जवाफ कमरेड ओलीले दिनुपर्छ । हिजो त्यत्रो एमाले, त्यो पार्टीको एकता गरेर दुनियाँमा असम्भव ठानिएको दुइतिहाईको संसद । त्यो संसद् विघटन गरेर अहिले एमालेसमेत किन विभाजन गर्न चाहनुहुन्छ भन्नेले एमाले र उहाँका चासो फरक हुन् भन्ने यसै देखिन्छ । त्यसले गर्दा यसको उत्तर उहाँले दिनुपर्नेछ ।

पार्टी विभाजन भयो भने त्यसको जवाफ त माधव नेपालसहित तपाईंहरूले पनि दिनुपर्ला नि ?

हामीले सबैभन्दा धेरै उठाईराखेको प्रश्न हुन्–पुस ५ मा उहाँले संसद् विघटन किन गर्नुभएको थियो ? त्यो संवैधानिक हिसाबले समाधान भयो तर राजनीतिक हिसाबले त्यसको के उद्देश्य थियो ? कम्युनिष्ट पार्टीको दुई तिहाई रहेको संसद विघटन गर्नुको उद्देश्य के थियो ? यी प्रश्न अहिले पनि अनुत्तरित नै छन् । त्यसपछि अदालतले दुई पार्टी ब्युँताउने फैसला गर्‍यो, जुन फैसला आफैंमा विवादित थियो । अदालतले दुई पार्टी ब्युँताइदिएपछि नेकपा एमाले कब्जा गर्न फागुन २८ मा आफ्नो गुटको बैठक राखेर निर्णय गर्नु किन पर्‍यो ? यो प्रश्न पनि अनुत्तरित नै छ । ०७५ जेठ २ मा जानुपर्छ भनेर कसैले पनि माग्नु पर्ने होइन, स्वतः जानुपर्ने थियो । त्यहाँ नगएर कमजोरी लुकाउन विवाद बढाउँदै गएर अर्कोपटक फेरि किन संसद् विघटन गर्नुभयो ? यो प्रश्न पनि अनुत्तरित नै छ । यी भविष्यमा प्रष्ट हुँदै जालान्, खोज्दै पनि गइएला । त्यतिखेरै यसको उत्तर खोज्ने प्रयत्न गर्छौँ ।

तपाईंहरू अब के गर्नुहुन्छ, एकताकै प्रयास कि अरु कुनै कदम ?

हामी अहिले पनि पार्टी एकताको पक्षमा छौं । यसको कारण नेकपा एमाले र कांग्रेस पनि भन्ने गरेको छु, हाम्रा परम्परागत राजनीतिक शक्तिहरु, जसले सांस्कृतिक रुप लिई सकेका छन् । यस्ता शक्तिहरुको विभाजन भयो भने मुलुकले धेरै ठूलो दुख पाउँछ, यो गर्न हुँदैन । हामी व्यक्तिगत रुपमा पदमा रहौंला वा नरहौंला, संसदमा रहौंला वा नरहौंला जेसुकै होला । तर, पार्टी बच्नुपर्छ भन्ने हाम्रो दृढता, संकल्प हो । हामी त्यसैमा रहिरन्छौं ।

अहिलेको जस्तो अवस्था कहिलेसम्म रहला ?

त्यसको लागि या त कमरेड ओली सुध्रिन पर्छ या एमालेको आफ्नो जीवन शक्तिले ओलीलाई सुधार्न सक्नुपर्छ, नियन्त्रण गर्न सक्नुपर्छ । यी दुई कुराको फैसला नहुँदासम्म हामी एकताको पक्षमा निरन्तर लागि रहन्छौं । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया