असार २३, २०८२ सोमबार July 7, 2025

क्रियाशील सदस्यता टुंगिएन भने महाधिवेशन हुन्छ भनेर यसै भन्न सकिन्न : डा. शशांक कोइराला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महाधिवेशनको मिति नजिँकिदै छ । तर, क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । घोषित महाधिवेशनको तयारी कहाँसम्म पुग्यो ? 

तपाइँले भनेजस्तै अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन । तर, विवाद समाधानको अन्तिम चरणमा पुगेको छ । बिहीबारसम्म क्रियाशील सदस्यताको अन्तिम टुंग्गो लगाउन लागिरहेका छौँ । त्यसपछि खाका तयार गरेर अधिवेशनतर्फ जान्छौ । अहिले पार्टीको ध्यान नै क्रियाशीलतर्फ छ । क्रियाशील टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्दैनौँ । तसर्थ क्रियाशील टुंग्याउनतर्फ हाम्रो ध्यान छ ।

क्रियाशील सदस्यता विवाद टुंगो नलागेर महाधिवेशन प्रभावित हुने सम्भावना कत्तिको छ ? 

बिहीबारसम्म क्रियाशील सदस्यता टुंगा लगाउन सकिएन भने आशंका त भइहाल्यो नि । क्रियाशील सदस्यबारे हरेक जिल्लामा केही न केही विवाद छ । टुंगिएका भनिएका जिल्लाहरुमा पनि विवाद आइरहेका छन् ।

उजुरी परिरहेका छन् । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशील सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौँ ।

अहिले तपाइँ, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच संयुक्त भेटघाट भइरहेको छ । त्यो भेटघाटलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ? बैठकमा खास के भइरहेको छ ?   

हो हामी पार्टीलाई कसरी अगाडि बढाउने भनेर तीन पटक बैठक बस्यौं । पहिलो पटक विमलेन्द्र निधिले वैवाहिक सम्बन्धको ३५ वर्ष भएको अवसरमा बैठक बोलाउनु भएको थियो । त्यसपछि प्रकाशमान र मेरो घरमा पनि बैठक भयो । हाम्रो भनाइ एकै ठाउँमा उभिनुपर्यो भन्ने हो ।

सभापतिका लागि हामी ३ जना मध्ये कोही लड्छ भने ठिकै भयो । हामीमा एकता हुनुपर्यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरू उत्पन्न छन् । एउटा कि विमलेन्द्रले शेरबहादुर जीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोश्रो कुरा हामी तीनै जना मध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन ।

रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ । प्रकाशमान र म त छदैँछु । विमलेन्द्र हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीनजनाबाट ५ जना गरौ, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन ।

हामी तीनजना एकठाउँमा उभियौं भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्रले । राम्रो पनि भयो । नकारात्मक पक्षहरू पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेतापुत्रहरू) एकै ठाउँमा उभियौँ भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहीँ प्रष्टै रूपमा दिएको छ ।

कांग्रेसमा नेतृत्व पुस्तान्तरण वा नेतृत्व परिवर्तनको समय आएको तपाईँहरुको बुझाइ हो ?  

अधिवेशनमा हामीले नेतृत्व परिवर्तन गर्नुपर्छ । अहिलेको अवस्थामा हाम्रो दुर्दशा भएको छ । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन नेता पुगेका छौं । कसरी हुन्छ परिर्वतन ?

कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुदै समुहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई  पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेद्वार भयो भने हामी सजिलोसंग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले पहल गरेका हौं ।

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कसरी मिलाउनुहुन्छ ? कसले कसलाई छोड्ने भन्ने विवाद हुँदैन ? 

हामी बीचको वार्ताबाट नै कसले कसलाई सहयोग गर्ने भन्ने टुंग्याउँछौं । होइन भने त तीनै जनाले लड्नुपर्यो । वार्तामा बसेर कुनै टुंगोमा त पुर्याउन पर्योनि ।

हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन । त्यसैले हामी तीन जनाले यति चाही के भन्नुपर्यो भने हामी मध्ये एक जना उभियौ भने चाहीँ सजिलोसंग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलको व्यवस्थापन गर्ने योजना तपाइँहरुको के छ ? 

शेरहादुर जीको त धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रूपमा ठाउँ लिनुपर्ने हो । तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ ।

उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । मलाई लाग्छ शेरबहादुर जीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भइसक्नुभयो । उहाँहरू कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहीँ अप्ठयारो हुन्छ ।

महामन्त्रीबाट सभापतिमा पदोन्नति हुने घोषणा गर्नुभएको छ । के छ तयारी ?    

सबै भन्दा पहिले त मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरूसंग भेटघाट गरिरहेको छु । उनीहरूको राय, सल्लाह, सुझाव एउटा त्यो भयो । दोश्रो कुरा नेताहरूबीचमा पनि संवाद हुनु जरुरी छ ।

हुन त कुरा भइरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसंग पनि कुरा त भइरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौ । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

सभापतिको उम्मेद्वारी दिदै गर्दा यहाँका मुद्दाहरू के–के हुनेछन् ?    

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हामी टुक्रा टुक्रा भएको, गुट उपगुटहरूले ध्वस्त पारेकोले धरासायी भएका हौँ । सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ । उहाँ त सबैको सभापति हो नि । उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो ।

तर, उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔं । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन ।

वीपी कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरू चाहिँ मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सीयल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्यो तर ऊ आईसकेपछि उसले आफ्नो शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्यो ।

महामन्त्री दुई जना, उपसभापति दुई जना गर्दा उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्यो । सबैले लडेर हुदैन । अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशील सदस्यको छिनोफानो, उम्मेद्वारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?    

सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ । त्यसमा हामी लागि रहेका पनि छौं । समिति बनाएर जिम्मा पनि लगाएका छौँ । अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्यो ।

विजयकुमार गच्छदारको पार्टी, सुनिल थापा जीको पार्टीका क्रियाशील सदस्यहरू पनि समावेश हुनुपर्यो  र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्यो । मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ । राजतिलकका साथमा । -न्यूज अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया