असार २३, २०८२ सोमबार July 7, 2025

राजसंस्था पुनस्थापनाको लागि ठूलो जनविद्रोह नै हुन्छ : डा. मनोज मुक्ति विवेक, अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

० नयाँ सरकार बनेदेखि एमसीसीको कुरा जोडतोडका साथ उठ्न थालेको छ, तपाइँहरु पनि यसको विरोधमा देखिनुभएको छ किन ?

— एमसीसी र नेपाल सरकारबीच भएका सन्धि सम्झौताहरुलाई केलाएर हेर्दा यसका प्रावधानहरु राष्ट्रघाती छन् । अमेरिकाको रक्षा मन्त्रालयअन्तर्गत इन्डो प्यासिफिक स्ट्रेटेजी, विशुद्धरुपमा सैन्य र सामरिक महत्वको रहेको छ । हाम्रो विदेश नीति भनेको पञ्चशीलको आधारमा असंलग्न विदेश नीति भनिएको छ भने हामी कुनै सैन्य गठबन्धनमा जान मिल्दैन । एमसीसीलाई विद्युत प्रसारण लाइन भनिएको छ र जलविद्युतसँग गाँसिएको छ । यसले के भन्छ भने एमसीसीको अडिटिङ्गदेखि लिएर सम्पूर्ण कुराहरु नेपाल सरकारको स्वामित्वमा रहने छैन । अमेरिकाले तोकेको अडिट फर्मबाट मात्रै यसको लेखा परीक्षण गराउन पाइनेछ । एमसीसीको बुँदाहरुसँग नेपालको ऐन कानूनका व्यवस्थाहरु बाँझिएको अवस्थामा नेपालको ऐन कानून स्वतः निस्प्रभावी हुनेछ । भनेपछि नेपालको ऐन, कानून, राष्ट्रिय स्वाधिनतामाथि एमसीसीलाई राखिएको छ । अर्को कुरा नेपाल सरकारले कुनै पनि प्रोजेक्ट बनाउँदा भारत सरकारसँग अनुमति लिनुपर्ने, जहाँ–जहाँ परियोजना बनाउँछ त्यहाँका नेपालीको जग्गाको लालपुर्जा नेपालीको नाममा हुँदैन, त्यो सबै एमसीसीको नाममा हुन जान्छ । यी सबै कुराहरुले गर्दा यो राष्ट्रघाती हो, राष्ट्रिय स्वाधिनताविपरीत हो । यसले नेपाललाई गुलाम मात्रै बनाउँदैन, सैन्य र सामरिक रणभूमि बनाउँछ ।

० अमेरिकाले एमसीसीमार्फत् नेपाललाई गुलाम बनाउन खोज्दैछ त ?

— अमेरिकाको साम्राज्यवादी, विस्तारवादी नीति जुन पूरा विश्वमा हामी हेर्न सक्छौं, त्यो नेपालमा पनि लागू गर्न खोजिएको छ । एमसीसी जहाँ–जहाँ छिरेको छ, त्यो अवस्था हेर्नुस् त कहाँ पुगेको छ । कुनै पनि देशलाई समृद्ध र विकसित बनाएको छैन एमसीसीले । यसलाई २१औं शताब्दीको औपनिवेशिकता भनिन्छ । यो औपनिवेशिकताको आधुनिक रुप हो । अहिलेको सरकार जनादेशबाट होइन, अदालतको परमादेशबाट बनेको हो । अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको कारण हो कि जसले अमेरिकाको दलाली गर्छ । असार २८ गते सर्वोच्च अदालतको फैसला आइसकेपछि धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक संविधान च्यातिएको अवस्था छ । अहिलेको अवस्था भनेको एमसीसीले रुल गरिरहेको छ । एमसीसी संसदबाट पारित गरिनुपर्ने भनिएको छ तर त्यसको प्रक्रिया सुरु भइसकेको अवस्था छ ।

० भनेपछि अमेरिकी सेना नेपालमा प्रवेश गरिसकेको छ त ?

— गत २८ जुलाई तारिखमा अमेरिकन एम्बेसीको फेसबुक पेज हेर्नुभयो भने त्यसमा स्पष्टमा भनेको छ । उसले जग्गा किनिसक्यो, प्रसारण लाइनहरु सुरु भइसक्यो, त्यसको भौतिक संरचनाहरु निर्माण भइरहेको छ । अमेरिकन एम्बेसीले सामाजिक सञ्जालमार्फत् इन्डो पेसेफिक नै नेपाललाई घोषणा गरिसकेको छ । त्यसले आफै भनेको छ कि इण्डो पेसेफिक तहत नेपालको भूमिमा व्यापकरुपमा अमेरिकी सेना भित्र्याइसकेको छ । मैले यो कपोलकल्पित कुरा गरेको होइन, तिनीहरुकै तथ्य, प्रमाण र गतिविधिले यो कुरा भनिरहेको छ । अब नेपाललाई अन्त्यहीन द्वन्द्वमा फँसाउन र गुलामीकरण गर्नका लागि यी सबै तानावानाहरु बुनिँदैछ ।

० तर यसबारे अहिलेसम्म आधिकारिक कुराहरु देखिँदैन नि ?

— यहाँ मिडियालाई प्रयोग गरेर आफ्नो अनुकूल वातावरण बनाउने, विभिन्न राजनीतिक दलहरुमा आफ्ना लठैतहरु बनाउने, देवत्वकरण गराउने क्रियाकलापहरु अहिले भइरहेका छन् । मूलधारका मिडिया भनाउनेहरुको कर्तुतहरुबाट पनि प्रष्ट देखिएको छ । राष्ट्रियताको सवालमा केही मिडियाबाहेक कसैले बोलेको छैन । यहाँ जति पनि ठूलठूला मिडियाहरु छन्, त्यसमा विदेशीहरुको लगानी, विदेशी एजेन्टहरुको लगानी छ नि त ।

० यो एमसीसी जस्ताको तस्तै लागू हुँदैन भनेर नेताहरु भनिरहेका छन् नि ?

— एमसीसीको विषयमा संसदभित्रका सम्पूर्ण दलहरुबीच आमसहमति भइसकेको अवस्था छ । किनभने केपी शर्मा ओलीको सरकारले पनि गत वर्ष संसदमा ल्याएकै हुन् नि । केपी ओलीकै सम्बोधन हेर्ने हो भने उसले संसदबाट पास गर्नै खोजेका थिए । तर त्यतिबेला माहोल नबनेको कारणले भएन । अर्को कुरा, एमसीसीसँग झण्डै दुई दर्जन सन्धि सम्झौताहरु आकर्षित भएर आएका छन् । कतिपय सन्धि सम्झौताहरु त अहिले बाहिर पनि आएका छैनन् । नेपालमा जति पनि राजनीतिक रडाको मच्चिएको छ, ती सबैका पछाडि ठूला हात भनेको एमसीसी हो । एमसीसीले यहाँका सुरक्षा निकाय, मिडिया, न्यायालय लगायत सबैमा सेटिङ्ग गरिसकेको अवस्था छ । पछिल्लो जुन सरकार परिवर्तन भयो त्यसमा पनि एमसीसीको प्रमुख भूमिका रहेको थियो ।

० सबै दलहरुबीच आमसहमति नै बनेको छ भने संसदबाट पारित हुँदा तपाइँहरु के गर्नुहुन्छ ।

— एमसीसी संसदमा दर्ता भइसकेको अवस्था छ । त्यसकारणले हामी अहिलेदेखि नै व्यापकरुपमा देशभरि रचनात्मक विरोधका कार्यक्रमहरु गरिरहेका छौं । हामीलाई पनि शंका छ कि यिनीहरुले एमसीसी पास गर्छ नै । अब हामी आन्दोलनलाई एकत्रित गर्दै, व्यापकता दिँदै सडक संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिइरहेका छौं । यदि संसदबाट पास भयो भने नेपालमा ठूलो द्वन्द्वको सिर्जना हुन्छ । यी राजनीतिक दलका नेताहरुको विरुद्धमा आमजनताले सचेत विद्रोह गर्ने अवस्था सिर्जना हुन्छ । किनभने व्यापकरुपमा जनस्तरबाट एमसीसीलाई खारेज गरेको अवस्था छ । जनताको भावनाविपरीत यी राजनीतिक दलहरु चलखेल गर्छ भने त्यसलाई जनताले छोड्ने अवस्था छैन । जुन संसदमा एमसीसी निर्णयार्थ प्रस्तुत हुन्छ, त्यो लाखौं जनताले संसद भवन घेर्ने अवस्था आउँछ ।

० तपाइँहरुले विरोधका कार्यक्रमहरु घोषणा गरिसक्नुभएको छ, तर पनि त्यसको प्रभाव परेको देखिँदैन नि ?

— हामीले विभिन्न माध्यमबाट सांसदहरुलाई सचेत गराइरहेका छौं । हाम्रा केही साथीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । यो आन्दोलनलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा नेतृत्वदायी भूमिका खेल्दै राष्ट्रव्यापी बनाउने पहल गर्दैछौं । यसको उदाहरणस्वरुप हामी आउँदो शनिबार सिरहा जिल्लाको लहानमा एउटा विरोधको कार्यक्रम गर्दैछौं । यो एमसीसी विरुद्धको आन्दोलनलाई व्यापकरुपमा प्रत्येक स्थानीयसम्म लैजाँदैछौं । अब सांसद र मन्त्रीहरुको घर घेर्ने, पार्टी कार्यालयहरु घेर्ने लगायतका कार्यक्रमहरु गर्दैछौं । हाम्रा केही साथीहरु नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएर नारा जुलुस पनि गरेका छन् । त्यसैले यो आन्दोलनलाई अब व्यापकता दिँदै प्रत्येक जनप्रतिनिधिहरुको घर घेर्ने, जनदबाब दिने लगायतका विविध कार्यक्रमहरु गाउँ–गाउँसम्म पु¥याउँदैछौं ।

० यो एमसीसीको विरोधको नाउँमा राजसंस्था पुनस्र्थापनाको वकालत पनि गर्दै हुनुहुन्छ ?

— राजसंस्था र हिन्दू राष्ट्र घोषणाका लागि हाम्रो आन्दोलन विगत लामो समयदेखि जारी छ । सबभन्दा मुख्य कुरा हाम्रो घर सुरक्षित रहेपछि अरु कुराहरु गर्छौं । यहाँ त देशै सिद्धिने अवस्था आयो । त्यसकारणले राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको आन्दोलनलाई निरन्तरता दिँदै एमसीसीलाई रोक्न सक्नुपर्छ भनेर निष्कर्षमा पुगेका छौं । किनभने देश रहेपछि नै राजा आउँछ, हिन्दूराष्ट्र हुन्छ । त्यसकारणले यी दुईटै आन्दोलनलाई सँगसँगै अगाडि बढाइरहेका छौं । जनता सचेत भइरहेका छन् ।

० राजसंस्था फेरि ब्युतिने सम्भावना छ त ?

— कुनै पनि कुराको समयसीमा तोक्न मिल्दैन तर निकट भवियमा नै राजसंस्था पुनस्र्थापना हुनेमा हामी विश्वस्त छ । राजसंस्था पुनस्र्थापनाका लागि ठूलो जनविद्रोहको तयारी हुँदैछ । जब जनता सडकमा आउँछ भने ठूला–ठूला तानाशाहहरु भागेको इतिहास पनि छ नि । मधेशबाणीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया