काठमाण्डौंः सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि पठाएको तीन करोड रुपैयाँ बजेट फिर्ता भएको छ । जेठ अन्तिम साता सरकारले मेची अस्पतालका लागि उक्त रकम पठाउँदै अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर, अस्पतालले रकम खर्च नगरी फिर्ता पठाएको हो ।
दैनिक १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्ने भनिए पनि आर्थिक वर्ष सकिन लाग्दा बजेट आएकाले खर्च नभई फिर्ता भएको अस्पताल विकास समितिले जनाएको छ । पर्याप्त समय नभएका कारण अक्सिजन प्लान्ट राख्न सक्ने अवस्था नभएपछि बजेट फिर्ता पठाइएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो ।
कोरोना संक्रमण बढिरहेको सन्दर्भमा अक्सिजनको अभाव झेल्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले जेठ अन्तिम साता अस्पताललाई रकम पठाएको थियो । अस्पतालमा अहिले प्रदेश सरकारको एक करोड रुपैयाँ सहयोगमा दैनिक ३५ सिलिण्डर उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । अहिले जोडिएको प्लान्टले अस्पतालको २५ प्रतिशत मात्रै माग धान्छ ।
मेची अस्पतालमा अहिले दैनिक ६० जना संक्रमित नियमित उपचारमा छन् । अधिकांश सङ्क्रमितलाई अक्सिजन अनिवार्यजस्तै हुँदै आएको मेडिकल सुपरिन्टेण्डेन्ड डा. टङ्क बाराकोटी बताउनुहुन्छ ।
झापामा सरकारी बाहेक निजी क्षेत्रको बीएण्डसी अस्पतालसँग मात्रै आफ्नो अक्सिजन प्लान्ट छ । अरू ठुला भनिएका एक दर्जन अस्पतालले बाहिरी जिल्लाबाट अक्सिजन आयात गरी माग धान्दै आएका छन् । बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले अक्सिजन अभाव हुन नदिन नयाँ प्लान्ट राखिन लागेको बताउनुभएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया