असार २३, २०८२ सोमबार July 7, 2025

सरकारले चुस्तदुरुस्त मन्त्री बनाएर जनपक्षीय काम गर्छ, पार्टी महाधिवेशन घोषित मितिमा हुने सम्भावना टर्यो : चन्द्र भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री नियुक्त भएको एक महिना हुँदासम्म पनि तपाईको पार्टी सभापतिले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएन । अब कहिलेसम्म विस्तार हुन्छ ?

गठबन्धन सरकार भएकाले सबैलाई मिलाउन पर्ने भएकाले केही ढिलाइ भएको अवश्य हो । अब धेरै ढिला हुन्न । केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ । त्यसका लागि गठबन्धन दलका शीर्ष नेताहरुबीच कुराकानी भइरहेको छ ।

मन्त्रिपरिषद्ले पूर्णता पाउँछ कि केही मन्त्री मात्रै थपिन्छन् ?

हाम्रो पार्टीमा मात्रै होइन, गठबन्धनमा आबद्ध अन्य पार्टीमा पनि मन्त्री बन्न आकांक्ष देखाउने धेरै साथीहरु हुनुुहुन्छ । तर, हामीले प्रधानमन्त्रीलाई ठूलो मन्त्रिपरिषद् बनाएर होइन चुस्तदुरुस्त मन्त्रिपरिषद् बनाएर जनप्रिय काम गर्न सुझाएका छौं । पूर्ण नबनाए पनि काम गर्न सहज हुने तरिकाले विस्तार हुन्छ ।

केही पहिलासम्म त तपाईंहरु निर्वाचनमा जनताले आफूहरुलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै सरकारमा नजाने बताउनुहुन्थ्यो । किन सरकारमा जानुभयो र सरकारको नेतृत्व गरेको एक महिनासम्म किन जनपक्षीय काम गर्न सकिरहनु भएको छैन ?

जनताले दुई तिहाई जनमत दिएर सरकारमा पठाउँदा पनि कम्युनिष्ट पार्टीले जनपक्षीय काम गर्न सकेन । फलस्वरुप उ सत्तबाट बाहिरिनै पर्ने भयो । त्यसपछि कांग्रेस बाध्य भएर सरकारमा जानुपरेको जगजाहेरै छ । जनताले त कम्युनिष्ट पार्टीलाई चरेशको थालमा ८४ व्यञ्जन त्यो पनि मिथिला परिकार दिएर सरकारमा पठाएका थिए ।

तर, अहिले कांग्रेसले सरकार चलाउनुपर्ने आयो । विज्ञ, प्रोफेसर, पत्रकार, बुद्धिजिवी कसैले पनि यति छोटो समयमा केपी शर्मा ओलीको सरकार जाला भनेर सोचेका थिएनन् । तर, गयो । त्यसको विकल्पका रुपमा हामी सरकारमा गएका हौं ।

कांग्रेस सभापति देउवालाई पनि यति चाँडै प्रधानमन्त्री हुन्छु भनेर लागेको थिएन । अहिले सानो थालोको भागमा सरकार परेको छ । सरकारलाई जनपक्षीय काम गरेर जनलहर हो पक्षमा ल्याउने तरिकाले हामी काम गर्छौ ।

कसरी सरकारमा पुग्नुभयो र अबका सरकारका प्राथमिकता के के हुन् ?

केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान विपरीतका काम गर्न लागिपर्यो । उसले आफ्ना पार्टीका नेताहरु, प्रतिपक्षी र आम नागरिकले भनेका केही कुरा मानेनन् ।

संविधान र लोकतन्त्र जोगाउन ओली नेतृत्वको सरकार हटाएर देउवाको नेतृत्वमा सरकार बनाउनको लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको हो ।

गठबन्धन सरकारले मन्त्रिपरिषद् सानो बनाएर भए पनि देश चलाउने र जनताको पक्षमा काम गर्ने पक्षमा लाग्न हामीले प्रधानमन्त्रीलाई सुझाव दिएका छौं । उहाँले सुझावका आधारमा अघि बढ्ने बताउनु भएको छ ।

मुख्य कुरा सरकारले के गर्ने र कस्तो काम गर्ने भन्ने कुरा हो, अहिले प्रधानमन्त्रीज्यूले सरकारको प्राथमिकता भनेर कोभिडविरुद्ध लड्ने भनेर भनिसक्नु भएको छ ।

उहाँले संसद्मा सम्बोधन गर्दा पनि पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप भन्नुभएको छ । यो हिसाबले पनि उहाँको प्राथमिकतालाई लिएर म स्वागत गर्न चाहन्छु । त्यसमा पार्टी र गठबन्धनबाट पूर्ण सहयोग हुन्छ ।

मुलुकमा धेरै अनियमितताका घटना बाहिर आइरहेका छन्, त्यसलाई निरुपण गर्ने योजना के छ तपाईंहरुसँग ? 

अहिले हामीसँग धेरै कुरा गर्ने समय छैन । जनताको पक्षमा काम गर्नुपर्ने अवस्था रहेको बेलामा हामी सरकारमा पुगेका छौं । देशमा व्याप्त भएको भ्रष्टाचारको कारण जिउँदै मान्छे मरेको छ । वास्तवमा यो सरकारले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई कारबाही गर्नुपर्छ ।

बरु, यसको लागि छुट्टै उच्चस्तरीय आयोग बनाउने हो कि, अथवा अख्तियारलाई पनि अझै प्रभावकारी बनाउने हो कि । पछिल्लो ३० वर्षमा अरु देश कहाँबाट कहाँ पुगेको भए पनि विकासको दृष्टिकोणले नेपाल धेरै पछि परेको छ ।

यो ३० वर्षमा नेपालमा ३० जना मानिस खर्बपति भए होलान्, अरु एक सय जना अर्बपती भए, अरु जनताको के हालत छ ? भ्रष्टाचार भनेको सेकेण्ड कोरोना हो । यसलाई निर्मुल पार्नुपर्छ । त्यस्तै, विकास निर्माणको पाटोमा पनि सरकारले विशेष ध्यान दिनुपर्छ ।

नेपालमा अहिलेसम्म कुनै पनि परियोजना समयसिमाभित्रै सम्पन्न हुन नसक्नु विकासको अर्को बाधक पक्ष हो । नेपालमा त कागजी विकास भयो । विकास निर्माणपनि भ्रष्टाचार गर्ने र खाने बाटो भयो । यसको अन्त्य गर्नुपर्छ ।

यदि हामीले यो परिपाटी अन्त्य गर्न सकेनौं भने नेपाल ध्वस्त हुन्छ । नेपालको दक्ष जनशक्ति विदेशिन बाध्य भएका छन् । अहिले ठूला ठूला काम गर्ने भनेर घोषणा गर्नुभन्दा पनि यो १७ महिनाको समयलाई सही सदुपयोग गर्नुपर्छ ।

अब प्रसंग केही बदलौं, आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तोकिएको पार्टीको १४ औं महाधिवेशन घोषित मितिमा हुन्छ ? 

पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना टरिसकेको छ । भदौमा महाधिवेशन होला जस्तो मलाई लाग्दैन् । अहिले कोभिड १९ को महामारी छ । गाउँगाउँमा विरामी छन् ।

यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ । मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला । तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला । म आधिकारिक व्यक्ति होइन, यस्तो भन्नको लागि ।

संवैधानिक बाध्यता त महाधिवेशन भदौ मै गर्नुपर्ने छ नी, नभए के गर्ने त ?

हो, त्यही भएर हामीले नेतृत्वलाई घच्घच्याइरहेका छौं । कसरी अगाडि बढ्ने भनेर नेताहरुले निर्वाचन आयोग, अदालत र कानुनका जानकारहरुसँग कुराकानी गरिरहनु भएको छ । हामी जसरी भए पनि पार्टीको वैधानिकता मर्न नदिने पक्षमा छौं । त्यसका लागि हामी संवेदनशील छौं ।

तोकिएको मितिमा महाधिवेशन कसका कारणले हुन नसक्ने हो त ?

तोकिएकै समयमा महाधिवेशन हुन नसके यसको दोष सबैभन्दा बढी नेतृत्वले लिनुपर्छ । नेतृत्व लिनेले काम गरेमात्र काम हुने हो, अरुले चाहेर हुन सक्दैन ।

चार जना पदाधिकारी बैठक बसेका छन्, न अधिवेशन गर्नसक्छन्, मेरो विचारमा नेपालमा होल पार्टीको कुरा गर्दा नेतृत्व नै असफल भएको छ । अहिलेको असामान्य परिस्थितिलाई हेरेर सर्वोच्च अदालतले केही व्याख्या गर्छ कि भन्ने लागिरहेको उनले बताए । राजतिलकबाट सभार ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया