मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उहाँ मुख्यमन्त्री बन्न सफल हुनुभएको हो ।

नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसक्नुभएको छ ।

मुख्यमन्त्री शाक्यको पृष्ठभूमि

एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिनुभएकी उहाँको धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौँबाट सांसद बन्नुभएकी उहाँ दोस्रो संविधानसभामा सदस्यसमेत हुनुभयो । उहाँले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीमा सफलतापूर्वक निर्वाह गर्नुभयो ।

शाक्य झण्डै चार दशकको राजनीतिक जीवनबाट अझै क्रियाशील हुनुहुन्छ । ६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लाग्नुभयो । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ पर्नुभएको थियो र त्यसपछि अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत हुनुभयो । उहाँ निरन्तररुपमा पार्टीमा सक्रिय महिला नेतृमध्ये हुनुहुन्छ ।

मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । आमाबुबाका आठ सन्तानमध्ये उहाँ दोस्रो सन्तति हुनुहुन्छ । मुख्यमन्त्री शाक्य र उहाँका पति अमृतकुमार बोहराबीच विसं २०३८ मा जनवादी विवाह भएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।

भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गर्नुभएको थियो । उहाँसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ । उहाँले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गर्नुभएको थियो । शाक्यले विसं २०२८ मा एसएलसी पास गर्नुभयो । एसएलसी दिएपछि शाक्य चिनियाँ भाषा सिक्ने काममा लाग्नुभयो । किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उहाँलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्ररेणा मिलेको थियो ।

उहाँले रत्नराज्य क्याम्पसबाट उच्च शिक्षाको अध्ययन थाल्नु भई प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत रहँदा तत्कालीन शिक्षा अव्यावहारिक र ‘बुर्जुवा शिक्षा’ रहेको भन्दै अध्ययनलाई बीचमै छाड्नुभएको थियो । मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण पाउनुभएको थियो । चिनियाँ भाषाको ज्ञान भएकाले उहाँले माओत्सेतुङको जीवनी र चीनको पुनःनिर्माणमा उहाँको योगदानका बारेमा अध्ययन गर्नुभएको थियो ।

चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताउनुहुन्छ । उहाँले विभिन्न समयमा जेल जीवनसमेत बिताउनुभयो । अखिल नेपाल महिला सङ्घको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताउनुभयो । विसं २०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला उहाँसहित अन्य थुप्रै नेता पक्राउ परेका थिए । उहाँले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन्छ । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेका उहाँ विसं २०४६ मा देशमा बहुदल स्थापना भएपछि जेलमुक्त हुनुभएको थियो ।

शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आउनुभएको बताइन्छ । उहाँले तत्कालीन समयमा मेची अञ्चलको महिला सङ्घको नेतृत्वसमेत गर्नुभयो । उहाँले एमालेको मुस्लिम सङ्गठन, कानून विभाग र संसदीय सुनुवाइ समितिको प्रमुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । एमालेको महिला सङ्गठनलाई मजबुद बनाउन शाक्यको विशेष भूमिका रहेको छ । तत्कालीन अवस्थामा एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट उपाध्यक्ष बन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार