असार ५, २०८३ शुक्रबार June 19, 2026

‘आफ्नो भूमि र देशको अस्मितामाथि धावा गरेको चाहीँ टुलुटुलु हेरेर बस्न सकिदैन’ : जीवनबहादुर शाही (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सीमा विवाद समाधान गर्नको लागी सरकारले कार्यदल गठन गरेको छ, त्यसले अध्ययन गरेर प्रतिवेदन दिने भनेको छ । साँच्चिकै सरकारले तपाईंको माग पुरा गरेको हो त ?

सरकारले समिति बनाएको छ, त्यसको लागि सरकारलाई धन्यवाद दिन चाहान्छु । यो मेरो मागभन्दा पनि तपाईं-हामी सबै नेपाली जनताको माग हो । जहाँ समस्या हुन्छ, त्यसको समाधानको लागि त्यो ठाउँमा जानुपर्छ भन्ने हाम्रो माग थियो । त्यसका लागि हामीले तत्कालिन् सरकारलाई ज्ञापनपत्र पनि बुझाएका थियौं । दुई देशका सम्बन्धका बारेमा नानाथरी कुराहरु भएका थिए । अब यो समितिले दुई देशको सम्बन्धलाई झन प्रगाढ बनाउनेछ । त्यस्तो खालको प्रतिवेदन जान्छ भन्नेमा मैले विश्वास लिएको छु ।

हुम्लामा साँच्चिकै चीनसँग नेपालको सीमा विवाद छ त ?

सीमा विवाद नभएको भए यी कुराहरु यसरी आउने थिएनन् । सीमामा पुग्न कति दुःख÷कष्ट छ भन्ने कुरा सबैलाई थाहा छ । तपाईंले पनि यसबारेमा धरै बहसहरु चलाइरहनुभएको छ । त्यसरीनै अहिले नीति विमर्श भन्नेले पनि त्यहाँको डिटेल कुराहरु लेख्नुभएको छ । अनि जुन हुम्लाको नाम्खा गाउँपालिकाको लिमी–लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको त्यो गच्छुदोसाबाट अहिलेको लालुङ्जोङसम्म मैले २०६६ सालमा आफैंले दुई किलोमीटर भन्दा बढी बाटो खनेको हो । म जिल्ला बिकास समितिको सभापती हुँदा त्यो खनेको बाटो आज उहाँहरुको क्षेत्रभित्र परेको छ । यतातिर हिल्सा भन्ने जुन नाका छ । सबैले सुनेको नाका हिल्सा भन्ने त्यहाँ ९–२ को पिलर माथि नै बार हालिएको छ । ६–१ को पिलर र ५–२ को पिलर हामीहरुको एकल पिलर हो । त्यसलाई उहाँहरुले आफूतिर राख्नुभएको छ भने ५–२ को पिलर हामी दुईवटै देशको हो । तर त्यसलाई पनि उहाँहरुले उता राख्नुभएको छ । त्यो भन्दा अगाडि पनि कृषि मन्त्रालयले हाम्रो यत्ति हेक्टर जमिन मिचिएको छ भन्दापनि पछी फेरी के कति कारणले हो÷होइन भन्ने कुरा आयो । यो प्रष्ट के हो भने मेरो नाङ्गो आँखाले ती पिलरहरु मिचिएको देखेको छ । त्यसैगरी लाप्चाको १२ नम्बर पिलर चाँही एक पक्षीय ढङ्गले डिसमेन्टल गरेर त्यो फेरी बनाइएको छ । इन्टरनेस्नल बोर्डर प्रोटोकलमा कुनै पनि बोर्डरको पिलरहरु चलाउँदाखेरि दुई देशको प्रतिनिधिहरुको उपस्थिति हुनुपर्छ । त्यो बेला फोटो र भिडियो खिचेर पनि मिडियामा आएको थियो । त्यसकारण नभएको कुरालाई हामीले भएको भनेका होइनौं । तर, सरकारले त्यतिबेला एक ईन्च पनि मिच्चिएको छैन भन्यो । यदि छैन भने काठमाडौं वा बेईजिङमा बसेर हुम्लाको सिमानाको कुरा थाहा हुँदैन । त्यसकारणले एउटा उच्चस्तरीय समिती गठन गरेर त्यहाँ गएर हेरिसकेपछि सत्य–तथ्य थाहा हुन्छ, भविष्यमा पनि यस्ता कुरा आउदैनन् भनेर हामीले भनेका हौ ।

तर, तत्कालीन सरकारले खासगरी परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्दै चीनसँग कुनै सीमा विवाद छैन भनेको थियो नी ?

हो, त्यही कुरा आइसकेपछि तपाईंले नै मलाईं भन्नुभएको थियो । परराष्ट्रमन्त्रीले यस्तो भन्नुभयो, तपाईंले के भन्नुहुन्छ भन्दा मैले भनेको थिएँ । पुर्व परराष्ट्रमन्त्रीज्यूलाई म यो भन्न चाहान्छु–तपाईं रेकर्ड हेरीदिनु । मैले टेलिभिजनबाट देखाएर हुँदैन । म उहाँलाई फोटो देखाउन चाहान्छु । माथि जाउँ समिति बनाउनुस भनेको थिएँ । तर, सरकारले बेवास्ता गर्यो । हचुवाको भरमा सीमा मिचिएको छैन भन्यो । तर, अहिलेको सरकारले समिति बनाएको छ । अब समस्याको समाधान होला ।

सरकारसँगै चीनसँगको नीति फेरीयो, पररााष्ट्र मन्त्रालयले सीमा मिचिएको छैन भनेको विषयमा फेरि समिती गठन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती गर्नुभयो भन्छन् नी ? यो विषय उठाउँदा चीनसँगको कुटनीतिक सम्बन्ध चिसिँदैन ?

होइन, मानिसहरुले के भनेका छन्, मैले बुझिनँ । त्यसोे हो भने कुनैपनि छिमेकी मुलुकसँग हाम्रो विवाद भयो भने उनीसँग बोल्नै हुँदैन, उनीसँग वार्ता हुनै हुँदैन । दासत्व स्विकार गरेर बस्ने हो भने हाम्रा नेताहरुलाई केही भन्नु छैन । तर, कुनैपनि मुलुकसँग सिमा विवाद भएपछि त्यसको समाधान खोज्दा त्यस देशसँगको सम्बन्ध चिसिने होइन्, अझ मजबुद हुनुपर्छ । प्रत्येक १० वर्षमा सीमा बोर्डरको विषयमा पुनरावलोकण हुनुपर्छ । तर, त्यो पनि भएको छैन् । त्यसैले सरकारले राम्रो काम गरेको छ ।

नारायणकाजी श्रेष्ठको पनि प्रतिक्रिया आएको छ, उहाँले त चीनसँग सीमा विवाद छैन सरकारले समिती गठन गरेर गलत गर्यो भन्नुभयो, यस वियषमा के भन्नुहुन्छ ?

नारायणकाजीजी जस्तो जल्दोबल्दो नेतालाई म तपाईंमार्फत आह्वान गर्छु कि तपाईं आइदिनुहोस । म स्वागत गर्छु, सीमामा जानुहोस अनि बोल्नुहोस न । काठमाडौंमा बसेर राष्ट्रियसभा सदस्यलाई यस्तो बोल्ने अधिकार कहाँबाट आयो ? म आग्रह गर्छु । उहाँहरु आउन सक्नुहुँदैन भने म हेलिकप्टरको खर्च व्यहोर्छु, अवलोकण गर्नुहोस अनि बोल्नुहोस भन्न आग्रह गर्न चाहान्छु । हामी वर्षौदेखि यही ठाउँमा बसेर समस्या भोगिरहेका छौं । हामीले यहाँबाट बोल्न नपाउने अनि उहाँहरु काठमाडौंबाट त्यसरी बोल्न कसरी मिल्छ ? कुन प्रमाण दिनुहुन्छ उहाँहरुले दिनपर्यो नी ।

चीनसँग सीमा विवाद छ भनेर तपाईंले भन्नुभयो, कर्णालीका मुख्यमन्त्रीलाई पनि लगेर जानुभयो अनि निरीक्षण पनि गर्नुभयो, तर चीन तपाईंसँग रिसाएको छ नि !

हो, त्यसैले त यस्तो कुरा गर्नेहरुलाई म यहाँ आएर अवलोकन गरेरमात्र बाल्न अनुरोध गरेको छु । मुख्यमन्त्रीज्यूले अवलोकन गर्नुभएको छ । यहाँका कर्मचारीहरुले अवलोकन गरेर प्रतिवेदन बुझाएका छन् । तर, उहाँहरुलाई गृहमन्त्रालयबाट उहाँहरुको सरुवा गरिएको छ । उनीहरुलाई धम्की दिइएको छ । मलाईसमेत धम्की दिइएको छ । यदि चीनले हामीले सीमा मीचेका छैनौं भन्छ भने २०६६ सालमा आएर बाटो खन्न किन लगाएको हो ? लाप्चा र लालुङ्जोङको बाटो खन्ने बेला चीनका प्रतिनिधीहरु पनि यहाँ आएका थिए । तर, हिल्साको विषयमा चाहीँ हाम्रा पिलरहरुलाई तारबार गरेर आफुभित्र राख्नुभएको छ । त्यसलाई सीमा मीचेको भन्ने की नभन्ने ?

तर, चीन यो कुरा मान्न तयार छैन्, हामीले नेपालको भू–भाग मीचेका छैनौं भनेको छ नी !

त्यसैले त हामी भनिरहेका छौं । त्यो मान्न तयार छैनौं भने उच्चस्तरीय समिति बनाएर त्यसलाई यहाँ पठाऔं । छानविन गरेर प्रतिवेदन तयार हुन्छ । अनि थाहा भइहाल्छ नी ! हामी सीमाको विषयमा चुप बस्नुपर्छ भन्ने मान्यता हाम्रा नेताहरुमा छ । जुन कुरा एकदमै गलत छ । यस्ता विषयमा हामी बोल्नुपर्छ । यो मेरो, यो तेरो भनेर झगडा गर्नेकी राम्रोसँग समाधान गर्ने हो ?

हाम्रो देशमा धेरै किसिमका समितिहरु बने, प्रतिवेदनहरु तयार भए तर कार्यान्वयन भएका छैनन् । यो समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन होला त ?

मलाई एकदम विश्वास के छ भने नेपालले समिति बनायो, यसरीनै चीनले पनि समिति बनाएर यहाँका स्थानीय निकाय र जनताहरु सबैलाई राखेर नाँप, नक्शा सबै गरेर हेरेपछि भोलिको दिनमा समस्या आउँदैन । ती खालका नक्शाहरु पनि समबन्धित जिल्लामा राखेर सम्बन्धित जिल्लाहरुमा राखिसकेपछि भविष्यमा यस्तो समस्या आउदैन् । मलाई अहिलेपनि के कुरामा विश्वास छ भने यो अन्तर्राष्ट्रिय रुपमा पनि आइसकेको हुँदा यो बन्छ र यो कार्यान्वयन पनि हुन्छ । जसले गर्दा दुई देशको सम्बन्धमा दरार होइन बरु सुमधुरता ल्याउनेछ । हामी यो ठाउँका जनतालाई चाहिने छिमेकी भनेको चीन नै हो । त्यसैले हामी चीनसँग राम्रो सम्बन्ध बनाउन चाहान्छौं । तर, पनि आफ्नो भूमिमाथि, आफ्नो अस्मितामाथि धावा गरेको चाहीँ टुलुटुलु हेरेर बस्न सकिदैन् । त्यसकारणले हामीले यी कुरा उठाएका हौं । त्यसैले यो कुरा चाहीँ कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त छु । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
२०८३ असार ५, शुक्रबार
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
२०८३ असार ५, शुक्रबार
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
२०८३ असार ५, शुक्रबार
रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार
२०८३ असार ५, शुक्रबार
रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्
२०८३ असार ५, शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार