असार २३, २०८२ सोमबार July 7, 2025

७ अर्ब लगानीमा विराटनगरमा ‘ड्राइपोर्ट’ निर्माण गर्दै चौधरी ग्रुप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चर्चित व्यावसायिक घराना चौधरी ग्रुपले विराटनगरमा ७ अर्ब लगानीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ। विराटनगर भएर भारतको जोगबनीबाट रेल आउने भएपछि त्यसको कार्गो व्यवस्थापन गर्ने गरी चौधरी ग्रुपले यूएईको सर्राफ ग्रुपसँग मिलेर ड्राइपोर्ट निर्माण गर्न लागेको हो।

यसका लागि गत आइतबार बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाकीको सहभागिता लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सीजी लजिस्टिक प्रालि तथा सर्राफ ग्रुपका तर्फबाट चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीपत्रअनुसार छ महिनाभित्र सीजी र सर्राफले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाउनुपर्ने बोर्डका प्रवक्ता बलराम रिजालले बताएका छन।

‘आगामी ६ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन उहाँहरुले हामीलाई बुझाउनुहुनेछ’, रिजालले भने, ‘त्यसपछि प्रतिवेदन अध्ययन गरेर उहाँहरुको लगानी स्वीकृत गर्ने/नगर्ने बोर्डले निर्णय गर्छ।’

रिजालका अनुसार सीजीले ‘मल्टिमोडल पार्क’ सहितको उक्त ड्राइपोर्ट निर्माणका लागि ७ अर्ब बढी लगानी गर्ने प्रस्ताव बोर्डमा पेस गरेको छ।

समझदारीपत्रमा हस्ताक्षरपछि चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले तोकिएकै समयमा प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

‘हामी एउटा नमुना लजिस्टिक पार्कका रुपमा यो परियोजना समयमै सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैनौं’, लगानी बोर्डले चौधरीलाई उद्धृत गर्दै ट्वीट गरेको छ।

कस्तो हुन्छ सीजीको पार्क ?
चौधरी ग्रुपका जनरल मेनेजर मधुसुदन पौडेलले कार्गो व्यवस्थापनसम्बन्धी कार्य गर्ने हुनाले यो ड्राइपोर्टजस्तै हुने जानकारी दिएका छन।

‘पोर्टसँग कनेक्टिभिटी हुन्छ’, पौडेलले भने, ‘ड्राइपोर्टजस्तै भनेपछि यसमा स्टोरेज सुविधा, सवारीसाधन व्यवस्थापनलगायतका सबै पूर्वाधार निर्माण हुन्छ।’

प्रवक्ता रिजालले कार्गोबाट नेपाल भित्रिने सामान सीजीकै पार्कमा रजिष्टर गर्ने गरी व्यवस्था मिलाइने बताएका छन। उनका अनुसार उक्त पार्कमा आन्तरिक तथा बाह्य तवरबाट रेलमा भित्रिने कार्गोको व्यवस्थापन हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया