श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ ।

करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ । सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिनुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया