असार २३, २०८२ सोमबार July 7, 2025

सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनाः ९० भन्दा बढीको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नु भएको छ ।

उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् ।

घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । “दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो”, एक प्रत्यक्षदर्शीले भने । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।

शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ । “आगलागी हुनुअघि इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए”, एक प्रत्यक्षदर्शीको भनाइ छ । राष्ट्रपति जुलियस मादा बायोले ठूलो मानवीय क्षति हुनेगरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक वक्तव्य प्रकाशित गर्दै पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ । शवगृहमा ९० भन्दाबढी शवहरू पुगेको र फ्रिटाउन वरिपरिका स्वास्थ्य केन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् । (रासस-एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया