काठमण्डौंः गएको २४ घण्टामा प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सम्भवत असोज र कत्तिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम सङ्क्रमित सङ्ख्या हो ।
आईतबार देखिएका कोरोना सङ्क्रमितमा मोरङमा तीन, झापामा दुई र सुनसरीका एक जना छन् । यस प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङको विराटनगरमा तीन, झापाको भद्रपुर र कमल गाउँपालिकामा एक-एक र सुनसरीको इटहरीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १८४ पुगेको छ भने यस भाइरसबाट मुक्त हुनेको सङ्ख्या एक लाख चार हजार ९१९ रहेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा अहिले पनि दुई हजार २६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।
प्रदेशमा आईतबार ४७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक महिला सहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा यस भाइरसबाट दुई हजार १४७ जनाको मृत्यु भएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया