नेपाली काँग्रेसको महाधिवेशन भव्य रुपमा गर्नको लागि तयारी थाल्नुभएको छ, अब नेपाली काँग्रेसमा नयाँ नेतृत्व आउँछ ?
हो, हुनलागेको महाधिवेशन नेतृत्व चयन गर्नको लागि नै हो ।
तपाईंहरुले किन विचार र नीतिको महाधिवेशन गर्न सक्नुभएन ?
समयले नभ्याएको हुनाले हो । नीतिको अधिवेशन आउने कार्यसमितिले तुरुन्त गर्नेछ ।
उसोभए अहिलेको महाधिवेशन नेतृत्वको लागि मात्र हो ?
हो, केन्द्रमा नेतृत्वको महाधिवेशन गर्ने हो । अन्यत्र चाहीँ प्रदेश/प्रदेशमा र जिल्ला÷जिल्लामा गर्ने हो ।
नेतृत्वमा तपाईंले पनि दाबी गर्नुहुन्छ ?
हो, मैले पनि दाबी गर्छु ।
ब्याक हुनु भएको छैन् ?
किन ब्याक हुने ? हाम्रो सल्लाह हुन बाँकी नै छ । मेरो चाहना पूरा हुन्छ भन्ने मलाई लागेको छ ।
शेरबहादुर देउवा र तपाईंको बीचमा कुरा मिल्छ ?
हामीहरुको बीचमा पनि कुरा हुन्छ । सबै साथीहरुको बीचमा कुरा हुन्छ । सकेसम्म सहमति नै गर्न कोशिस गर्ने हो ।
तर, तपाईंलाई शेरबहादुर देउवाले विश्वास गर्नुहोला ?
गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । शेरबहादुरजीले मलाई अगाडि सार्नुभयो भयो बिमलेन्द्रजीले पनि मलाई साथ दिन्छु भनेर भन्नुभएको छ ।
उसोभए, शेरबहादुर देउवालाई सभापति नबनाउने तपाईंहरु दुबैको रणनीति हो ?
शेरबहादुरजी एउटा सफल नेतृत्व भएर सरकारको नेतृत्व लिइरहनुहोस भन्ने मेरो भावना रहेको छ । छिमेकीको पनि कहिलेकाहीँ अनुकरण गर्नुपर्छ मोदी टाइपबाट अगाडी बढ्नुहोस भन्ने मेरो अग्रह छ । उहाँले आफ्नो विश्वासपात्रलाई अगाडि सार्न पर्यो । त्यो म हो अथवा को हो भन्ने उहाँले नै भन्नुपर्यो । विगतमा उहाँलाई अप्ठ्यारो पर्दा काँधमा काँध थाप्ने मान्छे चाहीँ म हो ।
तपाईंले शेरबहादुर देउवालाई ठुलो गुण लगाउनुभएको छ, अब उहाँले तपाईंमाथि गुण लगाउनु होला त ?
मैले उहाँलाई मात्र होइन् पार्टीलाई पनि गुण लगाएको छु । गुण लगाउने अथवा नलगाउने भन्ने कुरा उहाँको कुरा हो । तर, लगाउनुहुन्छ भन्ने मलाई विश्वास छ । गोपालमानजी मैले छोड्दा तपाईंलाई नै जिम्मा दिने हो भनेर उहाँले वान टुु वान भेटमा भन्नुभएको छ । मैले पनि उहाँलाई हामी तीन जना बसेर सहमति गरौं त्यसपछि अन्य साथीहरुसँग पनि सहमति गरेर सकेसम्म सर्वसम्मत रुपमै नेतृत्व चयन गरौं भनेर भनेको छु ।
तपाईंले कुरा राख्नुभयो तर, उहाँहरुले सुन्नुभएको छैन् नि होइन् ? बिमलेन्द्र निधिले म उठ्छु भन्नुभएको छ ?
अब म चाहीँ समझदारीमा कुरा गर्नेमा छु । मेरो गोरुको बाह्रै टक्का भनेको छैन् । बिमलेन्द्रजीसँग कुरा गर्नुपर्यो । बसेर शान्त तरिकासँग कुरा गरेर निश्कर्ष निकाल्नुपर्यो । अहिलेसम्म त्यो काम भएको छैन् । बसेर छलफल गरौं भन्ने मेरो भनाई हो । बिमलेन्द्रजीले गोपालमानजी शेरबहादुर दाईले तपाईलाई अगाडि सार्नुभयो भने म पनि साथ दिन्छु भन्नेर सबै साथीहरुको अगाडी भन्नुभएको छ ।
सातवटै प्रदेशको अधिवेशनको लागी तपाईंहरुलाई जिम्मेवारी दिइएको हो ?
एकदम हामीले सात वटा प्रदेशमा अधिवेशन गर्न लागेका छौं । यसको लागि केन्द्रीय नेताहरुलाई जिम्मवारी दिईएको छ । सात वटै प्रदेशमा प्रदेश अधिवेशको उद्घाटन गरेर हामीले यसको सुरुवात गर्दैछौं ।
न्यायालयभित्रको विवादमा तपाईंहरु किन मौन बस्नुभएको छ ?
होइन्, न्यायालयभित्रको कुरा हाम्रो बिचमा नचलेको होइन् । त्यसलाई सहजीकरण कसरी गर्न सकिन्छ ? न्यायालय धेरै अप्ठ्यारो अवस्थामा गएको छ । यस विषयमा पार्टीले के गर्ने भन्ने कुरा हो । संसदीय दलमा पनि यो कुरा उठ्नुपर्यो । तर, सकेसम्म यसको समाधान न्यायालयबाटै गर्नुपर्छ । यो विचलनले डेमोक्रेसीलाई कहाँ पुर्याउने हो भन्ने कुरा पनि भएको छ । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर हुनुहुन्छ यसको निकास छिटै निस्किन्छ भनेर उहाँले आश्वस्त पार्नुभएको छ ।
रामचन्द्र पौडेलले नेपाली काँग्रेसले तुरुन्त प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याउनुपर्छ भन्नुभएको छ, यस विषयमा तपाईं के भन्नुहुन्छ ?
रामचन्द्रजी अहिले जिम्मवार ठाउँमा हुनुहुन्छ । उहाँलाई पनि हामीले भनेका छौं । गठबन्धनमा पनि यस विषयमा कसरी अगाडी बढ्न सकिन्छ त्यो गर्नुपर्यो भनेर हामीले उहाँलाई भनेका छौं ।
उच्चस्तरीय राजनीति समन्नय समितिमा रामचन्द्र पौडेल हुनुहुन्छ, त्यसको बैठक आज बस्दैछ, उहाँले यस विषयमा कुरा गर्छु भन्नुभएको छ । प्रधानन्यायाधीशलाई हटाउने कुरामा नेपाली काँग्रेसको सहमति छ ?
होइन्, हटाउने अथवा नहटाउने भन्ने कुरा त छलफलपछि थाहा होला । हटाएर समस्या समाधान हुने हो कि नहटाएर समाधान हुने हो जसरी हुन्छ समस्याको समाधान हुनपर्याे । यस्तो अवसथामा न्यायापालिकालाई राख्न भएन ।
प्रधानन्यायाधीशले म राजीनामा दिन्नँ, मलाई संवैधानिक रुपमा हटाओ भनेर भन्नुभएको छ ?
उहाँले भन्ने कुरा स्वभाविक हो । यही कारण त समस्या आएको छ । उहाँले राजीनामा दिएको भए यो समस्या आउने नै थिएन् नि ।
महाभियोगको प्रस्ताव ल्याउन गठबन्धनले मात्र पुग्दैन् ? होइन् र ?
यो त अन्तिम अस्त्र हो । यसलाई जथानाम प्रयोग गर्नुहुँदैन् । यसको प्रयोग नगरेरै समस्याको समाधान निस्किन्छ भने त्यसको खोजी गर्नुपर्छ ।
उसोभए नेपाली काँग्रेसले प्रधानन्यायाधीशविरुद्ध तत्काल महाभियोगको प्रस्ताव ल्याउँदैन ?
यो कुरा नेपाली काँग्रेसले मात्र चाहेर हुँदैन । गठबन्धनले चाहेर पनि हुदैन् । एमाले पनि तयार हुनपर्यो । उसले पनि सोच्नुपर्यो ।
केपी शर्मा ओलीले त पाँचै जनालाई हटाउनुपर्छ भनेर भनिसक्नुभयो नि ?
उहाँले हचुवा किसिमले त्यसरी पाचैँ जना भन्न मिल्दैन् नि । अहिले प्रश्न पाँचै जनाको उठेको छ र ? त्यसरी भन्न मिल्दैन् ।
शेरबहादुर देउवाले यस विषयमा तपाईंहरुलाई नबोल्न भन्नुभएको हो ?
होइन्, जथाभाबी त किन बोल्नुपर्यो त । बोल्ने कुराहरु बोल्ने हो नबोल्ने कुराहर बोल्नपनि हुँदैन् ।
तपाईहरु प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएर प्रधानन्यायाधीशलाई हटाउने प्रक्रियामा जानुहुन्छ ?
अहिले तत्काल त्यसो होला भन्ने मलाई लाग्दैन् । यस विषयमा छलफल भएको छैन् ।
मूल्यवृद्धि आकाशिएको छ, जनता पीडामा छन् । तपाईहरुले जनतालाई हेर्नुपर्दैन् ?
हजुर यो मूल्यवृद्धि असाध्य अस्वभाविक भएको छ । यसरी बढ्न हुने थिएन् । नेपाल सरकारले धरै कर थुपारेको छ । मूल्यवृद्धि फिर्ता लिनुपर्छ भन्ने नेपाल सरकारसँग मेरो आग्रह छ । नेपाली जनताको ढाड सेक्ने काम भएको छ । यसो गर्नुहुँदैन् । नेपाली काँग्रेस पार्टी मुल्यवृद्धिको समर्थन गर्न सक्दैन् । रिपोटर्स नेपाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया