काठमाण्डौंः चीन र पाकिस्तान दुवै मोर्चामा युद्ध गर्नुपर्ने सम्भावना रहेकाले भारतले संसारका विभिन्न देशबाट हातहतियार किनिरहेको छ । त्यसैक्रममा रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रणाली भारत आइपुगेको छ ।
भारतले एस–४०० यो रक्षा प्रणालीको पाँच इकाइ किन्नका लागि रुससँग सन् २०१८ को अक्टोबर महिनामा पाँच अर्ब डलरभन्दा बढीको सम्झौता गरेको थियो ।
जमीनबाट आकाशमा मार हान्ने यस प्रणालीका पाटपुर्जा कुल पाँच इकाइ (ब्याट्री) मा आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसको पहिलो इकाइको आपूर्ति शुरू गरेको जानकारी रुसको फेडरल सर्भिस फर मिलिटरी टेक्निकल कोअपरेसनका निर्देशक दिमित्री शुगाएभले स्पुतनिक न्युजलाई दिएका छन् ।
यस क्षेप्यास्त्रलाई भारतको ब्रह्मास्त्रका रूपमा भारतीय सञ्चारमाध्यमहरूले चित्रित गरिरहेका छन् । ग्लोबलसेक्युरिटी डट् ओआरजीले पनि युद्ध क्षमता विकासका लागि संसारभरि यसको अरू कसैसँग तुलना नहुने दाबी गरेको छ ।
द टाइम्स अफ इन्डियामा प्रकाशन गरिएको समाचारमा उल्लेख गरिएअनुसार, यस प्रणालीका इकाइहरू जल र आकाशमार्ग हुँँदै भारत आइपुगेका छन् र तिनलाई सन् २०२२ को अप्रिल महिनासम्ममा भारतको पश्चिमी सीमा नजिक तैनाथ गरिनेछ । त्यहाँबाट त्यसले पाकिस्तान र चीनको सीमाबाट आउने जोखिमको सामना गर्न सक्ने रक्षा विशेषज्ञहरूलाई उद्धृत गर्दै उक्त समाचारमा लेखिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया