असार २३, २०८२ सोमबार July 7, 2025

लिबियाका शक्तिशाली नेताद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लिबियाका शक्तिशाली नेता तथा पूर्वगृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । न्यायसहितको नयाँ लिबिया बनाउने उद्घोषका साथ उहाँले राजधानी त्रिपोलीमा घोषणा–पत्रसमेत सार्वजनिक गर्नुभएको छ । त्यसैगरी मानवअधिकारको सम्मान गर्ने र बजार नियन्त्रित अर्थतन्त्र बनाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिका लागि ५९ वर्षीय बशाघाले समेत उम्मेदवारी घोषणा गरेसँगै अहिलेसम्म उम्मेदवारहरूको सङ्ख्या चार पुगेको छ । देशको राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका उम्मेदवारहरूमध्ये पूर्वराष्ट्रपति मोहम्मद गद्दाफीका छोरा पनि हुनुहन्छ । गद्दाफीका माइला छोरा सइफ अल इस्लाम गद्दाफीको उम्मेदवारीलाई लिबियालाई पुरानै अवस्थामा फर्काउने प्रयत्नको रूपमा व्याख्या गरिएको छ ।

आफ्नो पिताका सबैभन्दा योग्य उत्तराधिकारीका रूपमा हेरिएका उहाँलाई जिन्टन सहरको एक मिलिसियाको नियन्त्रणमा राखिएकोमा रिहा गरिएपछि उहाँले राजनीतिक गतिविधि गर्न लाग्नुभएको हो । उहाँप्रति लक्षित गर्दै नयाँ उम्मेदवार बशाघाले भन्नु भएको छ, “लिबिया फेरि पुरानै अवस्थामा फर्किन सक्दैन, आमनागरिक नयाँ लिबिया चाहन्छन, म त्यसका लागि काम गर्नेछु ।”

लिबियामा रगत र आँशु बगाउने दिनको आफूले अन्त्य गर्ने र सबैलाई खुसी र सुखी राख्ने अठोट पनि उहाँले व्यक्त गर्नुभएको छ । “हामीले अब पुनर्निर्माण, पुनस्र्थापना र पुनर्जागरणको अभियान चलाउनु पर्छ, त्यसका लागि मलाई जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो ।

पूर्वसैन्य विमान चालक तथा व्यवसायी बशाघाले फायज सार्जा नेतृत्वको अघिल्लो सरकारमा सन् २०१८ देखि गृहमन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त शक्तिशाली सरकारमा गृहमन्त्री बन्ने मौका पाउनु भएका बशाघालाई लिबियाको शक्तिशाली नेताका रूपमा चिनिन्छ । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया