बैसाख २२, २०८३ मंगलबार May 5, 2026

अहिले हामी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संलग्न विवादित फैसलाहरू संकलनका क्रममा छौं । : चण्डेश्वर श्रेष्ठ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्यायाधीशहरूसँग लगातार वार्ता गरिरहनुभएको छ, गतिरोध अन्त्यको विषयमा के कुरा भइरहेको छ ?

यो संकटको निकास प्रधानन्यायाधीशले दिनुपर्छ । डेडलक बनाएर अहिलेको अवस्थामा राखिरहनुहुन्न भन्नेमा न्यायाधीशहरू एकमत हुनुहुन्छ । प्रधानन्यायाधीशले गोलाप्रथाबाट पेसी तोक्दा आफ्ना लागि गोला निकाल्नुहुँदैन, उहाँ कुनै पनि इजलासमा सहभागी नहुने किसिमबाट आपसमा गोला प्रणालीअन्तर्गत जानुपर्छ भन्ने कुरा छ । त्यसो गरेमा न्यायालयमा मनोमानी हुन पाउँदैन भन्नेमा सबै न्यायाधीश सहमत हुनुहुन्छ ।

इजलास फर्किएका पाँच न्यायाधीशसँग पनि आज (बुधबार) छलफल गर्नुभयो, उहाँहरूको भनाइ के छ ? 

१८ जना न्यायाधीशले प्रधानन्यायाधीशलाई ‘मार्गप्रशस्त गर्नुस्’ भनेर जुन आग्रह गर्नुभएको थियो, त्यसमा हामी अहिले पनि एकमत छौँ भन्ने उहाँहरूको भनाइ छ । अहिलेको निकास वर्तमान लिडरसिपबाट हुन सक्दैन, त्यसैले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्छ भन्नेमा उहाँहरू सहमत हुनुहुन्छ । उहाँहरू न्यायपालिकाको अहिलेको अवस्था अन्त्य गर्न हरिकृष्ण कार्की नेतृत्वमा बनेको प्रतिवेदन लागू गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।

प्रधानन्यायाधीशको राजीनामाबारे मंगलबार १३ जना र बुधबार पाँचजना भेट्दा उहाँहरूको विचारमा के भिन्नता पाउनुभयो ?

सर्वोच्च अदालतको विकृति, विसंगति र भ्रष्टाचारका समस्या हल गर्न निकास निकाल्नैपर्छ भन्नेमा सबै एकमत रहेको पायौँँ । न्यायालय सुधारका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्छ भन्नेमा उहाँहरू सबै सहमत हुनुहुन्छ । इजलासमा बस्नुहुने पाँचजना न्यायाधीशको पनि यही मत छ । उहाँहरूको एक मात्र फरक कुरा, यतिका दिन न्यायाधीशहरू छलफलमा बस्दा पनि केही ठोस निष्कर्ष निस्किएन भन्ने हो । त्यसैले मुद्दा तामेलीमा पठाउने, मिलापत्र गराउने, औचित्य सकिसकेका मुद्दाहरू तामेलीमा राख्ने, बन्दी प्रत्यक्षीकरणलगायत स–साना मुद्दा हेरिरहनुभएको हो । वकिल नचाहिने र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्नुभएको हो ।

आन्दोलनका क्रममा यहाँहरू दलहरूप्रति पनि आक्रोश व्यक्त गर्नुहुन्छ, बारले दलसँग के अपेक्षा गरेको हो ?

हामीले अनौपचारिक रूपमा दलहरूलाई आफ्ना कुरा राखिसकेका छौँ । सम्भवतः शुक्रबार ज्ञापनपत्र पनि दिनेछौँ । यसका लागि नेताहरूसँग समय लिनुपर्ने भएकाले केही ढिला हुन गएको हो । हामी उहाँहरूलाई ‘न्यायपालिकामा विद्यमान विकृति, विसंगति र भ्रष्टाचारका कारण सर्वोच्च अदालत ठप्प छ, राज्यको महत्वपूर्ण अंगमा यस्तो अवस्था रहँदा कार्यपालिका र व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने दलहरू, चाहे सत्तापक्ष होस् वा प्रतिपक्ष, कसैले पनि हेरेर बस्न मिल्दैन । यसका लागि तत्काल आवश्यक पहल गर्नुस् । कि त प्रधानन्यायाधीशलाई सम्झाएर राजीनामा दिन लगाउनुुस् कि संवैधानिक प्रक्रिया अपनाएर निकास दिनुस्’ भन्छौँ ।

जबराको राजीनामा नै बारको ‘बटमलाइन’ हो कि अरू मध्यमार्गी बाटो पनि खोज्न सकिन्छ ?

प्रधानन्यायाधीशको राजीनामा नआई न्यायपालिका सुधार हुनै सक्दैन । सुधारका लागि उहाँले राजीनामा दिएर बाटो खोल्नुपर्छ । न्यायपालिकालाई बन्दी बनाउने, डेडलक राख्ने अधिकार प्रधानन्यायाधीशलाई छैन । उहाँले अहिलेसम्म सुधारका कुनै काम गर्न सक्नुभएन । र, भोलि पनि गर्नुहोला भन्ने हामीलाई कति पनि विश्वास छैन ।

प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गर्दा तपाईंहरूले मान्नुभएन, अनौपचारिक च्यानलबाट संवाद भइरहेको छ कि ? 

हामीलाई प्रधानन्यायाधीशले वार्ता गर्न बोलाउनुभएको होइन । प्रेस विज्ञप्ति निकाल्नुभएको थियो, बारले जानकारीमा लिएको छ । हामीलाई औपचारिक पत्र आएको छैन । आएछ भने पनि वार्ता केका लागि ? विकृति र बिचौलिया पालिराख्न ? हाम्रो माग उहाँको राजीनामा हो ।

प्रधानन्यायाधीश जबराले गरेका फैसला अध्ययन गर्ने पनि भन्नुभएको छ, त्यो किन र कहिलेबाट गर्नुहुन्छ ? 

हो, अहिले हामी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संलग्न विवादित फैसलाहरू संकलनका क्रममा छौँ । कहाँ–कहाँ, कुन–कुन मुद्दामा कस्ता–कस्ता विवाद भए जसले गर्दा न्यायालयमा बिचौलियाले प्रवेश पाए, भ्रष्टाचार भयो, विकृति चुलियोलगायतका कुरा अध्ययन गर्छौँ र जनतालाई बताउँछौँ । आगामी दिनमा न्यायालयमा यस्ता विकृति नदोहोरिऊन्, नेतृत्व सचेत रहोस् भनेर न्यायालय सुधारका लागि फैसला अध्ययन गर्न लागेका हौँ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार