मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट मोतियाबिन्दुका बिरामी लाभान्वित भएका रोटरी क्लब अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो । जिल्लाको आठवटै स्थानीय तहबाट आएका आँखाको बिरामीको परीक्षण गर्दा मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सापकोटाले बताउनुभयो । आँखाको परीक्षण गर्न आएका एक हजारभन्दा बढीको बिरामीमध्ये करिब २०० मा मोतियाबिन्दुको समस्या देखिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

“शिविरमा आँखा परीक्षण गर्न आउँदा मोतियाबिन्दु देखिएका सबै बिरामीको शल्यक्रिया गर्न सकिएन”, अध्यक्ष सापकोटाले भन्नुभयो, “उहाँहरुको स्वास्थ्य समस्याका कारण हाललाई शल्यक्रिया गर्न नसकिएको हो ।” तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका लिना बज्राचार्यको नेतृत्वमा आएको नेत्र रोग विशेषज्ञ डा अनिमा देसार, डा क्षितिज जङ्गलगायत १५ को समूहले बिरामीको आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । रोटरी क्लबले आउँदा वर्षहरुमा पनि निःशुल्क आँखा परीक्षण र मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिनका लागि तिलगङ्गा आँखा प्रतिष्ठानसँग प्रस्तावसमेत गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

आँखा परीक्षणका लागि पुगेका बिरामीको निःशुल्करुपमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण, कोभिड–१९ को परीक्षण तथा आवश्यकताअनुसार निःशुल्करुपमा औषधि तथा चस्मा पनि प्रदान गरिएको थियो । आँखा शिविरको उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रवीन्द्र पियाले मानवीय अङ्गमध्ये आँखा संवेदनशील भएकाले यसको सुरक्षाको लागि सचते हुनुपर्ने बताउनुभयो । आँखामा केही समस्या देखिएमा जथाभावी औषधिको प्रयोग गर्न नहुने भन्दै पियाले तुरुन्तै आँखा रोग विशेषज्ञलाई देखाउनुपर्ने बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया