काठमाडौं । पछिल्लो समय नेपालको प्रमुख निर्यातजन्य वस्तुका रुपमा रहेको प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएको छ । यसले नेपाली व्यवसायीको अर्बौंको लगानी जोखिममा परेको छ ।
पाम तेल निर्यात बन्द हुँदा अर्थतन्त्रमै गम्भीर नोक्सानी पुग्ने भन्दै समिक्षा थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन ।
‘पाम तेल निर्यातमा प्रतिबन्ध लागेको कुरा जानकारीमा आएको छ, हामी बिहानैदेखि छलफलमा जुटेका छौँ,’ राज्यमन्त्री दुगडले भने । नेपाली व्यवसायीले कच्चा पाम तेल आयातमा अर्बौं लगानी गरिसकेको भन्दै उनले भारत सरकारको निर्णयले पर्ने असर र अबको बाटोबारे छलफल थालिएको जानकारी दिएका छन ।
अर्थमन्त्रालयले भने पाम तेल निर्यात प्रतिबन्धबारे औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ ।
‘भारतले पाम तेल आयात रोक्यो भन्ने हामीले सुन्यौं, तर भन्सारमार्फत कुनै औपचारिक जानकारी मन्त्रालयलाई प्राप्त भएको छैन,’ अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने ।
पाम तेलको निर्यात बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव देखिने हुनाले आजैबाट गम्भिर छलफल थालिने पनि उनले बताएका छन ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले पाम तेल आयात रोकेकोबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएका छन ।
व्यापर विज्ञ डा.पोषराज पाण्डे भने नेपालको अर्थतन्त्रको सम्भावित जोखिम घटाउन भारतीय निर्णय राम्रो भएको बताउँछन् ।
‘केही परिवारको व्यापारिक हिस्सा बनेको पाम तेल आयात–निर्यातको अस्वाभाविक गतिविधि सरकारले राजश्वको लोभमा रोकेको थिएन, भारतको यो निर्णय आउन्ने निश्चित जस्तै थियो,’ उनले भने । सरकारलाई एक अर्ब राजश्व र केही परिवारको ब्यापार सुक्ने बाहेक ठूलो कुनै असर नेपाली अर्थतन्त्रमा नपर्ने उनको दाबी छ ।
भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । काश्मिर मुद्धामा मलेसियाका प्रधानमन्त्रीले भारतबिरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले बुधबार पाम तेलको आयत रोक्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा सबैभन्दा बढि पाम तेलको निर्यात मलेसियाबाट हुन्छ ।
गत सेप्टेम्बरमा संयुक्त राष्ट्रको महासभामा बोल्दै मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले नयाँ दिल्लीले काश्मिर हडपेको बताएका थिए । द डिप्लोम्याट म्यागजिनले काश्मिर मुद्धामा दुई देशबीच रहेको असमझदारी पाम तेलमा पोखिएको जनाएको छ ।
भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने बताइएको छ ।
भारतले प्रशोधित पाम तेल आयात रोकेपछि उद्योगी व्यवसायीहरु लगानी डुब्ने चिन्तामा परेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताएका छन । घिमिरेका अनुसार मोरङमा मात्रै पाम तेल प्रशोधन गर्ने एक दर्जन उद्योगहरु छन् ।
‘व्यवसायीले एउटा उद्योगका लागि ६० करोडसम्म लगानी गरेका छन् भने कच्चा पदार्थको लागि पनि धेरै रकम गइसकेको छ,’ उनी भन्छन्, ‘एलसी खोलेको धेरै कच्चा पदार्थ बाटामै छन् भने प्रशोधनपछि निर्यातका लागि तयारी अवस्थामा रहेको तेल रोकिने भएपछि व्यवसायीहरु छट्पटाएका छन् ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया