काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
विगत २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट ३६९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा नौ र महाकाली अस्पतालमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिबाट बैतडी र कैलालीमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट निको भएका छन् । सो अवधिमा सुदूरपश्चिममा कोरोनाबाट एक जनाको ज्यान गएको छ ।
यसअघि सोमबार सो प्रदेशमा नौ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१२ जनाको मृत्यु भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया