मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

पच्चिस हजार स्कुले बालबालिकालाई खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः डोटी जिल्लाका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ । जिल्लामा ३३ हजार विद्यार्थीको तथ्याङ्क प्राप्त भए पनि पच्चीस हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहिलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ । यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताउनुभयो । यहाँका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमै दिइने र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ ।

विद्यार्थी पनि खुसीकासाथ कोरोनाविरुद्धको खोप लगाउन थालेका कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थी पनि खुसीकासाथ खोप लगाउन थालेका छन् ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया