असार २४, २०८२ मंगलबार July 8, 2025

उपसभामुखबाट राजीनामा दिन्छु, तर …

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले राजीनामा गर भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्देशन दिनु गलत भएको बताएकी छन् ।

तर नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेकाले आफू राजीनामा दिन तयार रहेको बताइन् । समाचार एजेन्सी जीएम मिडियासँग कुरा गर्दै उनले भनेकी छन्, ‘मार्ग प्रसस्त गर्छु तर राजीनामा दिँदा मैदान खाली हुन्छ भन्ने कल्पना नगरे हुन्छ ।’

राजनीतिक दलहले सभामुखको उम्मेदवार तय गरेपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गर्नु केही मिनेट अगाडि जेष्ठ सदस्यलाई राजीनामा बुझाउने उनले बताइन् ।

तुम्बाहम्फेले भनिन्, ‘संसद खाली छोटो समय केही मिनेट मात्र हुन्छ, दिनको त कल्पनै गर्न सकिँदैन ।’ प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

संसदको गतिरोध कहिले अन्त्य हुन्छ ?

प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । यो पदपूर्ति गर्न हामीले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । त्यसका लागि प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा उम्मेदवार बनाउँछु भनेको थिएन । तीन दिन अगाडि मात्र उसले उम्मेदवारी दिने निर्णय गरेको छ, यद्यपि उम्मेदवार तयार गरेको छैन । यही कारण २७ गतेको बैठक केही दिन सारौं भनेर आग्रह भयो र विपक्षी दलसँग पनि परामर्श गरेर माघ ६ गते बैठक राखेका छौं । सम्भवत त्यो दिन प्रक्रिया अगाडि बढ्ने सम्भावना छ ।

सत्तारुढ नेकपाले त उम्मेदवार चयन गर्नुअघि तपाईंले राजीनामा दिनुपर्ने भनेर निर्णय गरेको छ त ?

मैले पनि सञ्चार माध्यमहरुबाट थाहा पाएँ कि नेकपाले राजीनामा दिन निर्देशन जारी गर्‍यो रे ।

तर मैले भनेको छु कि व्यवस्थापिकाको प्रमुखले एउटा घटनासँग जोडिएर राजीनामा दिइसकेपछि मैले नेतृत्व प्रदान गरिरहेको छु । र, कुनै एउटा दलले नेतृत्वबाट बाहिर जाउ भनेर कुनै एउटा दलले भन्न संविधानतः मिल्दैन । प्रतिनिधिसभामा बसेर काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हुँ । जब यो पदमा निर्वाचित भएँ, त्यसपछि मैले दल त्याग गरेको छु । साधारण सदस्य पनि छैन र स्वतन्त्र ढंगले संस्थालाई नेतृत्व प्रदान गरिरहेको छु ।

कतिपयले दलले निर्णय गर्दा पनि किन अटेर गरेर बस्यो भन्ने जस्ता टिप्पणी गरेको पनि सुनेको छु । यो प्रतिनिधिसभा एउटा संस्था हो, जसलाई मैले नेतृत्व प्रदान गर्नुपर्छ र गरिरहेको पनि छु । नेतृत्व गरिएको व्यक्तिलाई कुनै एउटा दलले बाहिर निस्क भन्न मिल्दैन । भनिहाल्यो भने पनि मैले खाली गर्नु हुँदैन ।

कतिबेला दिनु हुन्छ त राजीनामा ?

संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म हेर्‍यौं भने जसमा सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्छ र त्यसमा पनि एक महिला हुनुपर्छ भनिएको छ । अहिले यो कार्यान्वयन गराउनुपर्ने अवस्थामा आइपुगेका छौं ।

सभामुख पद रिक्त छ । जुन दलले मलाई निर्वाचित गराएर यहाँ पठायो, त्यही दलले सभामुखमा उम्मेदवारी दिन्छु भनेपछि मैले मार्ग प्रशस्त गर्नुपर्छ । दलले नभनेपनि मैले संविधानअनुसार राजीनामा दिनुपर्छ र दिन्छु पनि भनेको छु ।

तपाईंले पहिले राजीनामा दिए के हुन्छ ?

मैले कतिबेला राजीनामा दिन्छु भन्ने तपाईंलाई बताइसकेँ । म फेरि पनि भन्छु, संविधानले प्रतिनिधिसभालाई कुनै एउटा समयमा रिक्त रहन्छ भनेर कल्पना नै गरेको छैन । र यो पदमा निर्वाचित भएपनि प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्छु, कसैको डर नमानी संविधानको काम गर्छु भनेर मैले सपथ खाएको छु । संविधानले भनेको भन्दा दायाँबायाँ किन गर्ने ? त्यसैले जतिबेला दलहरुले उम्मेदवार तय गरेर निर्वाचन प्रक्रिया अगाडि बढाऔं भन्ने सन्देश दिन्छ, र निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी हुन्छ, त्यसबेला राजीनामा दिन्छु ।

संसदको बैठक माघ ६ गते १ बजे बैठक बोलाएको छु । निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भनेर तयारी अवस्थामा राखेको छु । त्यो दिन हामी सबै (संसद भवन) बानेश्वरमा हुन्छौं । बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नुहुन्छ । र, उहाँले बैठकको अध्यक्षता गर्नु ठीक अगाडि म राजीनामा दिन्छु । उहाँले बैठकको अध्यक्षता गर्नुहुन्छ, मेरो राजीनामा पढेर सुनाउनुहुन्छ । संसद केही मिनेटको लागि मात्र नेतृत्वविहीन हुन्छ, दिनको त कल्पना गर्नै सकिँदैन ।

तर अगाडि नै राजीनामा दिन्छ, सबै बाटो खाली हुन्छ भन्ने कसैले पनि कल्पना नगरे हुन्छ ।

दबाव चाहिँ कत्तिको झेल्नु परेको छ ?

मलाई कसैले केही भनेको छैन । धेरै चाहिँ के सुनेको छु भने तपाईंले कम्तिमा दलहरुले दबाव दिए पनि, नेतृत्वले दबाव दिएपनि तपाईंले अडान छाड्नु भएको छैन । एकदमै सही काम गर्नु भएको छ, तपाईंलाई स्यालुट गर्छौं भन्नु भएको छ । यो प्रतिनिधिसभाप्रतिको मायाको रुपमा मैले बुझेको छु ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार