काठमाण्डौंः गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ। सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो।
कोरोना महामारीको सुरुमै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए। खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए। ०७७ साल असोज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक वर्ष मात्रै सञ्चालनमा आएको थियो।
उक्त अवधिमा ७१ लाख खर्च भएको थियो। संघीय सरकारले १५ लाख तथा जिल्लाका स्थानीय तहले ५६ लाख रुपैयाँ प्रदान गरेका थिए। प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा एक करोड ९७ हजार खर्च भएको अस्पतालले जनाएको छ।
प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर परीक्षण गर्न सकिएको छैन। कोभिड–१९ का सम्भावित बिरामीको जिल्ला अस्पतालमै एन्टिजेन परीक्षण गरिँदै आएको छ। ४० लाख रुपैयाँ जुटाउन सके प्रयोगशाला नियमित प्रयोगमा ल्याउन सकिने अस्पतालले जनाएको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया