मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

स्वास्थ्य-जोखिममा हेलिकप्टरकै सहारा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ बाँसघारीकी ४० वर्षीया ग्याञ्जमाया लोप्चन गत बिहीबार भीरबाट लडेर सख्त घाइते भइन्। घाँस काट्न जाँदा लडेर बेहोस पनि भएपछि तत्काल उपचारका लागि हेलिकप्टरमार्फत उनलाई काठमाडौँ लगियो।

महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित उक्त गाउँकी लोप्चनको टाउकोमा ठूलै चोट लागेकाले तत्कालै हेलिकप्टरको व्यवस्था गरी उपचारका लागि काठमाडौँ पठाइएको स्थानीयवासी जीवन घिसिङले जानकारी दिए। उनका अनुसार लोप्चनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ‘सख्त बिरामीको उपचारका लागि गाउँमै सम्भव नहुँदा काठमाडाैँ पठायौँ’, घिसिङले भने।

यसअघि गत साउन अन्तिम हप्ता सोही वडास्थित डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पुर्‍याइएको थियो। टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा लैजान सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता भएको थियो। त्यतिबेला उनका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल पुर्‍याएका थिए।

गतसालको साउनमा पनि सोही वडास्थित जगथलीकी एक गर्भवती महिलालाई पनि हेलिकोप्टरमार्फत नै उद्धार गरिएको थियो। केही दिनदेखिको व्यथाले च्यापेपछि उनलाई अस्पताल लैजाने अन्य विकल्प नभएपछि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए।

‘सख्त प्रकृतिका बिरामी, आकस्मिक उपचार पर्दा तथा वर्षायामका बेला हेलिकप्टरबाहेक अन्य विकल्प छैन’, उनले भने। उता गत भदौमा डाँडापारि अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीकी २१ वर्षीया गर्भवती अनुशा तामाङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो। वडाध्यक्ष रविन मोक्तानका अनुसार लामो ‘व्यथा’ तथा दिसापिसाब रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकप्टरको व्यवस्था गरी थापाथलीको प्रसूति गृह लगिएको थियो।

त्यसबेला वर्षाले कच्ची सडकको विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सदरमुकामस्थित अस्पतालमा पुर्‍याउन सम्भव नभएका कारण हेलिकप्टर मगाउनु परेको थियो। ‘निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुशालाई सेवा उपलब्ध गराइएको थियो’, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने। हालसम्म ६ गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेकाले हेलिकप्टरको सहारा लिएको उनले बताए।

अध्यक्ष जिम्बले भने, ‘लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारिका जनताले आकस्मिक उपचारका लागि हेलिकप्टरकै भर पर्नुपर्छ, अब अस्पताल बन्दैछ केही सुविधा होला कि!’

गतसाल पनि तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकप्टरलाई गाउँमै बोलाइए पनि रित्तै फर्काउनुपर्‍यो। विडम्बना, हेलिकप्टर गाउँ पुग्दै गर्दा उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो। रञ्जितालाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे पनि उनी बचिनन्।

वर्षायाममा ग्रामीण भेगका सडक भत्किने र पहिरोले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ। हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता पनि छ। डाँडापारिस्थित टाढाको विकट क्षेत्रका बासिन्दालाई उपचारका लागि अस्पताल पुर्‍याउन थुप्रै रकम लाग्ने भए पनि सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन भएको छ।

‘पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी महिला र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहज भएको छ’, अध्यक्ष जिम्बाले भने।

भौगोलिक विकटता तथा मनसुनमा कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ। हेलिकोप्टरबाट बिरामी/गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकप्टर अवतरण गर्न थप व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडाैँ नै लैजानुपर्ने अर्को बाध्यतासमेत रहँदै आएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया