कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैन- सुजाता कोइराला (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

आगामी चुनावमा कांग्रेस एक्लै लड्छ या गठबन्धनसहित ?

कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धनसहित भन्ने विषयमा व्यापक छलफल गर्नुपर्छ । मैले अलिक अघिको राजनीतिक परिस्थिति हेर्दा सत्ता गठबन्धन मिलेर चुनावमा जानुपर्छ भनेको थिएँ । तर, कस्तो परिस्थिति हुन्छ त्यो बुझेर मात्र चुनावमा जानुपर्छ । कांग्रेसले पनि आफुलाई के गर्दा फाइदा हुन्छ, त्यो हेर्नुपर्छ । अरुको लागि भन्दा पनि कांग्रेस र देशको लागि हित हुने गरी चुनावी तालमेल गरेर जानुपर्छ । कांग्रेसलाई अझै व्यवस्थित र ठूलो पार्टी बनाउने गरी सोच्नुपर्छ ।

पार्टी सभापति शेरबहादुर देउवाले एउटा सानो समूहसँग मात्र छलफल गरेरभन्दा पनि व्यापक छलफल गरेर निर्णय लिनुपर्छ । गठबन्धन मिलेरै जाने हो भने पनि चुनावको समयमा आफू जित्ने स्थानमा कांग्रेसले छोड्नु हुँदैन । अरुलाई जिताउन भनेर कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नु हुँदैन । अघिल्लो चुनावमा चितवन लगायत केही स्थानमा कांग्रेसले उम्मेद्वारी नदिएर गल्ती भएको थियो । अब त्यस्तो गल्ती दोहोरिनु हुँदैन । कांग्रेस ठूलो दल भएकोले एक्लै चुनाव लड्न फाइदा हुन सक्छ । तर, पार्टीभित्र बृहत छलफल गरेर मात्र निर्णय लिनुपर्छ । हाम्रो आफ्नै बलियो संगठन छ ।

पार्टीले चलाएको चुनावी प्रचार अभियानको सुरुवाती प्रभाव कस्तो पाउनुभएको छ ?

चुनावी अभियानको प्रभावकारिता व्यापक छ । तर, हामीले परिर्वतनशील एजेन्डा बोकेर जनताको घर घरमा पुग्न सक्नुपर्छ । सधैँ इतिहासको मात्रै कुरा गर्नुभन्दा पनि समयअनुसार विकास निर्माण सहितका नारा र एजेन्डा बनाउनुपर्छ । जुन जिल्लामा जुन कुराको खाँचो र अभाव छ, त्यो पूरा गरिदिनुपर्छ । पार्टी प्रतिनिधि बनेर जिल्लामा पुगेका नेताले अध्ययन अनुसन्धान गरेर विकास निर्माणमा लाग्नुपर्छ । त्यहाँका जिल्ला सभापति, पार्टीका नेता कार्यकर्तालाई सोधेर समस्या समाधानमा केन्द्रित हुनुपर्छ । सबै समस्याहरू बुझेर समाधान गर्नुपर्‍यो कांग्रेसले । सबै जिल्लाका मुख्य समस्या र कांग्रेस कमजोर हुनुको जरो पत्ता लगाएर सम्बोधन गर्नुपर्छ, पछि जितेर आएपछि एजेन्डा बिर्सिने होइन । संगठनमा काम गर्नुपर्‍यो । ठूलो र विश्व राजनीतिको कुरा हुन्छ । तर, जनताको काम हुँदैन । यो नै अहिलेको मुख्य समस्या हो ।  स्थानीय तहको समस्या समाधान नभएसम्म पार्टीले बहुमत ल्याउँछ भन्ने छैन । काममा सिरियस भएर फोकस गर्नुपर्छ । राजनीति गर्नेले जनताको समस्यादेखि भाग्न मिल्दैन ।

पहिलो महिला मन्त्री बनाएको पार्टी कांग्रेसमा अहिलेसम्म आइपुग्दासमेत कोटा र आरक्षणबाट मात्र नेतृले स्थान पाउनुपर्ने विडम्बना किन ? 

महिलालाई अगाडि बढाउँदैनन् । महिला भनेर आउन दिनुभएको छैन की अन्य कारण हुन्, त्यो मलाई थाहा हुन सकेको छैन । म मुलुकको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री भइसक्दासमेत कसैको सहयोग पाउन सकेको छैन । अरु पदमै नपुगेका महिलाको अवस्था कमजोर छ । तर्सथ अझै महिलाको लागि कोटा, आरक्षण बढाउनु जरुरी छ । पार्टीमा महिला पनि उपसभापति, महामन्त्री लगायत अन्य पदाधिकारी हुन सक्थे, त्यो भएन ।

१४ औँ महाधिवेशनपछिको नयाँ नेतृत्वले पार्टीलाई कत्तिको चलायमान बनाउन सकेको छ ? 

केही काम भएका छन् । केहीमा अलमल देख्छु । कोरोना कहरमा जनतालाई खोप दिने काम निकै राम्रो भयो । पार्टीका भ्रातृ संगठनहरू व्यवस्थित बनाउने काम भइरहेका छन् । केहीको अधिवेशन हुँदै छन् । तर, यतिले पुग्दैन, जनताको बीचमा पुग्नुप¥यो नेताहरू । आफ्नो जिल्ला र क्षेत्रमा पुगेर कार्यकर्ताको काम गर्नुपर्छ । अब बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा म यी विषयहरू उठाउँछु । पार्टीको पिल्लरको रुपमा रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्नुपर्छ । नेतृत्व दिएर चलायमान बनाउनुपर्छ । भातृ संगठन सक्रिय भएको खण्डमा मात्र पार्टी सक्रिय हुन्छ ।

आफ्नो पार्टीभित्रका कमजोरी के के हुन् जस्तो लाग्छ ?

संगठन जति बलियो हुनुपर्ने त्यो हुन सकेको छैन । नेपाली कांग्रेसले अब नयाँ विचार दिनुपर्छ । समयअनुसार परिर्वतन हुनुपर्छ । सही मान्छेलाई टिकट दिनुपर्छ । पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ । आफुले टिकट नपाए पनि कांग्रेसको प्रतिनिधिलाई सहयोग गर्नुपर्छ । यसबारे पार्टीभित्र प्रशिक्षण चलाउनुपर्छ । नेतृत्व तहमा बसेका नेताले गुट अन्त्य गर्न भूमिका खेल्नुपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ : प्रधानमन्त्री शाह
२०८३ कार्तिक १९, बिहिबार