मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

जनसेवा हस्पिटलमा पत्रकार र उनीहरूका परिवारलाई उपचारमा ५० प्रतिशत छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको एउटा भव्य भवन, भित्रसम्म पुग्नका लागि प्यासेजसहितको मोटरबाटो, छेउमा पाँच तले भवन, भित्तामा टाँसेको ठूला टेलिभिजनका स्क्रिन, छुट्टाछुट्टै क्याबिन झट्ट हेर्दा सबैलाई कुनै भव्य पार्टी प्यालेस जस्तो लाग्छ । तर, यो पार्टी प्यालेस भने हाेइन । १५ वर्षदेखि महोत्तरीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनसेवा हस्पिटलको फेरिएकाे रुप हाे ।

महोत्तरीको बर्दिवासस्थित गौरीडाँडामा हालसालै बनेको यो अस्पताल भवन जति राम्राे देखिन्छ त्यति नै सुविधासम्पन्न पनि छ। करिब १६ करोड खर्चेर बनाइएको यो भव्य संरचना सम्भवत: मधेश प्रदेश कै उत्कृष्ट संरचना हो । अहिले अस्पतालले १२ जनाको विशेषज्ञ चिकित्सक सेवा दिएको छ । एमडीजीपीसहित ६ जना विशेषज्ञले २४सै घण्टा सेवा दिइरहेकाे अस्पतालका सन्चालक सुमन भुजेलले बताए ।

निजी अस्पताल भए पनि सबै वर्गमा स्वास्थ्य उपचार पहुँचमा पुर्‍याउन अस्पतालले सरकारले प्रदान गरेजस्तै स्वास्थ्य बिमा योजना ल्याएको छ । अस्पतालमा प्रभावित क्षेत्रलगायत अन्य ठाउँका बिरामीहरूलाई कार्ड बनाइदिने व्यवस्था गरिदिएको छ । जुन कार्डले उपचारमा छुटसहित सर्वसाधारणलाई राहत मिल्ने विश्वास लिएकाे भुजेलले बताए ।

निजी अस्पतालको भिडभाडमा यो अस्पतालले जिल्लामै पहिलोपल्ट आईसीयू, एनआईसीयू, हेभी रिप्लेसमेन्ट, इण्डोस्कोपी सर्जरी, ल्याप्राेसकाेपी, एपेण्डिक्समा विना सर्जरी उपचार जस्ता उत्कृष्ट सेवा दिँदै आएको छ ।

अस्पतालमा विशेषज्ञसहित ६ वटा भेन्टिलेटरसमेत राखिएको छ । जलेश्वर अस्पतालपछि भेन्टिलेटर सुविधा विस्तार गर्ने जनसेवा अस्पताल दोश्रो हाे ।

एक सय बेड क्षमताकाे अस्पतालले हाल ५० बेडमा सेवा सुचारू गरेकाे छ । `हामी अन्य अस्पतालको तुलनामा मापदण्डका हिसाबले निकै अगाडि छौँ,´अस्पतालका कम्युनिकेसन अफिसर विक्रम रौनियारले भने ।

अस्पतालले जिल्लाका सक्रिय पत्रकारहरूलाई समेत उपचार छुटकाे व्यवस्था गरेको छ । पत्रकार र पत्रकारका परिवारलाई उपचारमा ५० प्रतिशत छुटमा प्रदान गर्ने निर्णय गरेको सन्चालक भुजेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया