मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ ।

आज मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै उहाँले खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गर्नुभयो ।

आजदेखि प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने बताउँदै मन्त्री खतिवडाले यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकामा खोप सेवा प्रवाह गरिने जानकारी दिनुभयो ।

खोपका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्था गरिएको छ भन्दै उहाँले खोप अभियानबाट मकवानपुरका मात्रै एक लाख आठ हजार बालबालिका लाभान्वित हुने उल्लेख गर्नुुभयो ।

विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको र बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइने बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया