असार २३, २०८२ सोमबार July 7, 2025

चीनबाट उद्धार गरिदिन माग गर्दै ३ सय बढी नेपालीको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनबाट उद्धार गरिदिन आग्रह गर्दै तीन सय भन्दा बढी नेपालीहरुले बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।

दूतावासले आइतबार बिहान ९ बजेसम्मको समय दिएर स्वदेश फर्किन इच्छुक हुवे प्रान्तमा बस्ने नेपालीहरुबाट आवेदन आह्वान गरेको थियो । तर, हुवेभन्दा बाहेकका प्रान्तबाट पनि आवेदन परेको दूतावास स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘हुवे प्रान्तभन्दा बाहिर बस्दै आएकाहरुको समेत गरी तीन सय भन्दा बढीको निवेदन प्राप्त भएको छ । कतिपयले आफ्ना साथीहरुका पनि फारम भरिदिएका छन् । हामी ती निवेदनहरु अध्ययन गरिरहेका छौं ।’

हुवे प्रान्तमा करिब १७० जना नेपालीहरु रहेको अनुमान थियो । तीमध्ये केही जाडो विदा भएपछि पहिले नै स्वदेश फर्किइसकेका थिए । अहिले करिब १५० जना नेपाली हुवेमा रहेको अनुमान गरिएको छ ।
तर, दोब्बर बढीको आवेदन परेपछि हुवे प्रान्तका र अन्य प्रान्तका आवेदकलाई छुट्याउने काम भइरहेको दूतावासका अधिकारी बताउँछन् । ‘हुवे प्रान्तकालाई मात्र लिस्टिङ गर्ने काम भइरहेको छ, त्यसपछि मात्र नेपाल फर्काइनेहरुको संख्या एकिन हुनेछ,’ ती अधिकारीले भने, ‘संख्या यकीन गर्न अझै दुई–चार दिन लाग्न सक्छ ।’

हाल नेपालबाट नेपाल वायु सेवा निगमको जहाज वा हिमालयन एयरलाइन्सको जहाज चार्टर्ड गरेर चीनबाट नेपालीहरुको उद्धार गर्ने चर्चा छ । १ सय ५८ सिटे हिमालयको वा नेपाल एयरलाइन्सको न्यारो बडी जहाजले त्यो भन्दा बढी सं‌ख्यामा नेपाली भए एकै फ्लाइटमा बोक्न सक्दैन । यस्तो अवस्थामा वाइड बडीको जहाज झिकाउनुपर्ने वा चीनकै कुनै ठूलो विमानमार्फत् नेपालीलाई स्वदेश पठाउनुपर्ने दूतावासले जनाएको छ ।

यसअघि चीनमा रहेका नेपालीहरुले आफूहरुको उद्धारको पहल नगरेको भन्दै नेपाल सरकारको आलोचना गरेका थिए । त्यसपछि चिनियाँ दूतावासले नेपाल फर्किन इच्छुकबाट आवेदन आह्वान गरेको हो ।

नेपालले पठाइदिन भन्दावित्तिकै चीनले फर्किन दिँदैन । त्यसअघि उद्धार गरिएकाहरुलाई निगरानीमा राख्ने स्थान, उनीहरुको उपचारमा खटिने जनशक्ति, उपचारमा प्रयोग हुने उपकरण, ल्याबलगायतको सम्पूर्ण विवरण नेपालले चीनलाई बुझाउनुपर्छ । सो विवरण चित्तबुझ्दो भएमात्र चीनले स्वदेश फर्काउने अनुमति दिन्छ ।

यसअघि शनिबार नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीनमा रहेका नेपालीसहित सबै विदेशी नागरिकहरुको जीवन रक्षा तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने भन्दै संयमित हुन आग्रह गरेको थियो ।

हुवे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । डिसेम्बर अन्तिम सातादेखि हालसम्म कोरोना भाइरसकै कारण ३ सय बढीको ज्यान गइसकेको छ । कयौं संक्रमित छन् । कोरोनाको संक्रमण विश्वका २२ देशमा फैलिइसकेको छ भने चीन बाहिर पहिलो पटक फिलिपिन्समा एक जनाको मृत्यु भएको छ ।

धेरै देशहरुले आफ्ना सीमा नाका बन्द गरेका छन् । अमेरिका, अष्ट्रेलियासहित ६ देशहरुले हालै चीन भ्रमण गरेर फर्किन लागेका पर्यटकहरुलाई प्रवेशमा प्रतिवन्ध लगाएका छन् । धेरै देशहरुले आफ्ना सीमानाका बन्द गरेका छन् । छिमेकी मुलुक भारतले हुवे प्रान्तबाट आफ्ना नागरिकहरुलाई चार्टर्ड विमानमार्फत् उद्धार गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया