असार २४, २०८२ मंगलबार July 8, 2025

अरुण तेस्रोका लागि लगानी जुट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सतलज जलविद्युत निगमले निमार्ण गर्न लागेको अरुण तेस्रोको लागि लगानी जुटेको छ। सतलजले नेपाली बैंक र भारतीय बैंकबाट ऋण लिई लगानी जुटाएको हो।

परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो। जलविद्युत परियोजनामा भारतको स्टेट बैंक आफ इण्डिया (एसबिआई)को नेतृत्वमा वित्तीय स्रोत व्यवस्थापन भएको हो। जसमा एसबिआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन्।

त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन्। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन पुरा नहुँदै निर्माणको काम शुरु भइसकेकाले विश्वास बढेको बताए।

सरकारले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गरी यो जिम्मेवारी सतलजलाई दिएको थियो। नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैसाख २९ गते नयादिल्लीमा स्वीच थिचेर अरुण तेस्रो परियोजनाको संयुक्त शुभारम्भ गरेका थिए।

अहिले आयोजनाको सुरुङ र बाँधको काम भइरहेको छ। १४ अर्ब बढी खर्च भैसकेको कम्पनीले दाबी गरेको छ। ७० मिटर उचाईको ड्याम निमार्णगरी विद्युत उत्पादन गर्ने छ। आयोजनामा २ हजार बढीले रोजगारी पाउँदा ५० प्रतिशत नेपाली रहेको उल्लेख गरेको छ।

अरुण तेस्रो आयोजनाबाट उत्पादन हुने कुल विद्युतको २१.९ प्रतिशत अर्थात १९७.१ मेगावाट नेपालले निःशुल्क पाउनेछ। बाँकी विद्युत ढल्केवर प्रशारणलाईन मार्फत भारत लैजाने कम्पनीले बताएको छ।
२५ वर्ष पछि अरुण तेस्रो नेपाल सरकारको पूर्ण स्वामित्वमा आउने छ। उक्त अवधीसम्म नेपालले करिब साढे ३ खर्ब रुपैयाँ बढी फाईदा पुग्ने अनुमान गरिएको छ।

लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विदेशी लगानीमा निर्माण गर्न लागिएको यो परियोजनामा भारत र नेपालका गरी सात वटा बैंकले गर्ने ऋण लगानीको सम्झौता आज दिउसो ४ बजे काठमाडौंको होटल याक एण्ड यतीमा हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया