कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

भानु जयन्तीमा भोलि सार्वजनिक बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दसैँमा पनि बिदा दिने निर्णय गरेको थियो ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिएका आचार्यको जन्मजयन्ती मनाउन चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ । विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन्, भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया