कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

घाइतेको उपचारबारे गृहमन्त्रीद्वारा चासो व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दीकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाको उपचारबारे चासो लिनुभएको छ ।

गृहमन्त्री खाणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई टेलिफोन गरी ती दुर्घटनामा घाइते भएकाको उपचार प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले अस्पताल पुर्‍याउन थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भन्नुभएको छ ।

पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाइते भएका जनाइएको छ ।

यता सुनसरीका कोशी टप्पु वन्यजन्तु आरक्षभित्र रुख ढलेर स्कुटर च्याप्दा एक जनाको मृत्यु र एक जना घाइते भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिनुभएको छ ।

त्यस्तै भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेको यथाशीघ्र उपचारको व्यवस्था गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले निर्देशन दिनुभयो । उक्त घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएका जनाइएको छ ।
रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया