कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

उपत्यकाको फोहर बोकेका गाडीलाई स्थानीयवासीको पुनः अवरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् ।

यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो ।

सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको र फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेको धुनीबेँसी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो ।

कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहरका गाडी सिडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन् ।

आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुननसकेको हो ।

एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो ।

बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया