काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोहा बैंकबाट २ अर्ब रुपैंया भन्दा बढी व्यवसायिक ऋण नेपाल भित्राउने भएको छ।
मेगा बैंक नेपाल लिमिटेडले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैंया) भित्राउन लागेको हो। मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो। नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउनेछ। कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो।
नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ। योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने मेगा बैंकको विश्वास छ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया