काठमाडौं । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन्।
पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ। त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय सुरु भएको बताएका छन।
उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि सहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरेका छा। उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारेका छन।
प्रधानमन्त्रीले भने, “यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ। अब सहर कुरुप हुँदैन, चिटिक्कको सहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ।” विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट सुरु भए पनि यसलाई देशका प्रमुख सहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।
सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने पीर परेको बताएका छन।
उनले भने, “सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?” उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरेका छन। प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताएका छन।
उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारेका छन। प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गरेका छन।
प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिएका छन। एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताएका छन। उनले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गरेका छन। विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त गरेका छन।
काठमाडौँको विद्युत् प्रणाली, भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले सुरु गरिएको यो योजना आगामी २०२१ भित्र सम्पन्न गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको ताररहित बनाउने सो योजनामा टेलिफोन, इन्टरनेट तथा केबुल टेलिभिजनका तारसमेत एकै पटक भूमिगत गरिने बताइएको छ।
विकास निर्माणका काममा अन्तर मन्त्रालय तथा अन्तर सरकारी निकायबीच समन्वयको अभाव हुने गरेको गुनासाका बीच आज एउटै मञ्चमा ऊर्जा मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, खानेपानीमन्त्री बिना मगरको समेत उपस्थिति थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, धापासी, बसुन्धारा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका क्षेत्रमा कुल २५० किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेज क्षमताका अप्टिकल फाइबर जडान गरिनेछ । सो क्षेत्रमा २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत गरिनेछ ।
यसैगरी रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका क्षेत्रमा कूल ४०० किलोमिटर तार भूमिगत गरिनेछ। त्यस क्षेत्रमा ४०० केभी क्षमताको विद्युत् प्रणाली भूमिगत हुनेछ। त्यस्तै सोही क्षेत्रमा २०० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने योजनामा समावेश छ। सो कार्यका लागि करिब सात अर्ब खर्च लाग्नेछ ।
प्राधिकरणले सो कार्यका लागि सन् २०१९ को मार्चमा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार सन् २०२१ भित्र तार भूमिगत गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य छ ।
सडकको दायाँबायाँ किनारमा गाडिएका पोलका कारण सवारी साधन दुर्घटनामा पर्ने, आगलागी हुने तथा तारमा अल्भिने समस्याले तार भूमिगत गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । प्राधिकरणको योजनाअनुसार पोलबाट तार तानेर गरिने विद्युत् वितरणभन्दा जमिनमुनिको वितरण भरपर्दो, प्रभावकारी एवं सुरक्षित हुनेछ।
विद्युत् प्रणाली थप सुरक्षित एवं सहरी सौन्दर्यमा परेको नकारात्मक प्रभाव हटाउन सहयोगी हुनेछ । हावाहुरी, पानी वा चट्याङ पर्दा विद्युत् अवरोध हुने समस्याको समाधान हुने प्राधिकरणको विश्वास छ । विद्युतीय दुर्घटनाले जनधनको क्षति हुने गरेकोमा त्यसको नियन्त्रण हुने भएकाले प्राधिकरणले तार भूमिगत गर्ने योजनालाई महत्वाकाङ्क्षी योजनाको रुपमा लिएको कार्यकारी निर्देशक घिसिङको दाबी छ । थप विद्युत् माग भएको अवस्थामा त्यसलाई सहजै व्यवस्थापन गर्न विभिन्न स्थानमा ‘प्वाइन्ट’ राखिने भएकाले सजिलो हुनेछ ।
प्राधिकरणको योजनाअनुसार दोस्रो चरणमा काठमाडौँको बाँकी स्थानमा विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढीकरण र स्वचालित गर्न बोलपत्र आह्वान भइसकेको छ । बोलपत्रको हाल मूल्याङ्कन भइरहेको छ । सो योजनामा २५० किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेजको भूमिगत लाइन विस्तार तथा ४०० किलोमिटर अप्टिकल फाइबर भूमिगत गरिनेछ ।
भक्तपुर तथा ललितपुर क्षेत्रमा वितरण प्रणाली भूमिगत गर्न खरिद प्रक्रिया अगाडि बढाइएको छ जसको लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता आएको छ । सरकारको योजनाअनुसार काठमाडौँ उपत्यका बाहेक कास्कीको पोखरा महानगरपालिका तथा चितवनको भरतपुर महानगरपालिकाका मुख्य सडकमा वितरण प्रणाली भूमिगत गर्न अध्ययन भइरहेको छ । अन्य प्रमुख शहरमा वितरण प्रणालीको थप सुदृढीकरण गरिनेछ ।
दश दिनमै सडक मर्मत गरिने
कार्यक्रममा दिइएको जानकारीअनुसार तार भूमिगत गर्दा सडकमा न्यूनतम क्षति पु¥याइनेछ । परम्परागत तरिकाले सडक नखनी सम्भव भएसम्म ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिको उपयोग गरिनेछ। सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी रातको समयमा काम गर्ने व्यवस्था मिलाइएको छ । सडक खन्दा निस्कने धुलो कम गर्न अधिकतम सावधानी अपनाइनेछ । भत्काइएका सडक १० दिनभित्रै मर्मत गर्ने व्यवस्था मिलाइएको छ । भूमिगत गरिने तारसँगै अप्टिकल फाइबर बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार सेवा, केबुल टेलिभिजन सेवा प्रदायकले समेत त्यसलाई प्रयोग गरी आफ्नो सेवा विस्तार गर्न सक्नेछन्। त्यसबाट सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणालागू गर्न सहज हुने विश्वास लिइएको छ ।
परियोजनाको पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिनेछ । सो कार्यको ठेक्काका लागि निर्माण व्यवसायीले काम शुरु गरिसकेको छ । प्राधिकरणले एक वर्षभित्र देशैभरका थ्री फेज ग्राहकको मिटर विस्थापन गरी स्मार्ट मिटर जडान गर्ने लक्ष्य राखेको छ । सो अभियानअन्तर्गत देशैभरका करिब ४८ लाख ग्राहकलाई स्मार्ट मिटर जडान गरिनेछ ।
देशभर नै तार भूमिगत गरिन्छ स् मन्त्री पुन
ऊर्जा मन्त्री वर्षमान पुनले सहरी सौन्दर्यका लागि विद्युत्का तार भूमिगत गर्न लागिएको बताउएका छन्। उनले तार भूमिगत गर्ने योजनालाई आगामी दिनमा देशभर नै विस्तार गर्ने लक्ष्यसाथ काम भइरहेको र एकाध वर्षभित्रै पूर्णता पाउने विश्वास व्यक्त गरेका छन। मन्त्री पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी लगायतका आयोजना सम्पन्न गरी कुल एक हजार मेगावाट विद्युत् थप हुने बताएका छन।
उनले सरकार गठन भएपछि राष्ट्रिय प्रणालीमा थप ४०० मेगावाट विद्युत् थप भएको तथ्यांक पेश गर्दै नेपालले केही वर्षभित्रै विद्युत् निर्यात गर्ने उल्लेख गरे। सरकारले ऊर्जा क्षेत्रको विकासका लागि रणनीतिक महत्वका योजना अगाडि सारेको जानकारी दिँदै उहाँले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा त्यस क्षेत्रलाई लिइएको बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया