असार २४, २०८२ मंगलबार July 8, 2025

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै चकित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कास्कीको पोखरा महानगरपालिका वडा नं -२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ ।

विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आँफै झरेको देख्दा अचम्भित बन्नुभयो ।

साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई-दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उहाँको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन् । उहाँले भन्नुभयो, “दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ ।”

गाई नव्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने धारणा राख्नुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नव्याउँदै दूध दिन थालेको हो,” उहाँले भन्नुभयो, “यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।”

नब्याउँदै गाईले दूध दिन थालेपछि दङ्ग परेका निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्ष समेत रहनु भएका पौडेल र उहाँकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ । गोठमा दुई वटा ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेको कारण आफूले बाच्छीको खोजीमा रहेको बेला स्थानीय दलित समुदायका एक व्यक्तिमार्फत २०७६ पुस १७ गते ल्याएर गोठमा बाँधिएको हो । वेवारिसे अवस्थाको गाईको बाच्छी ल्याइदिने उनलाई पौडेलले एक हजार रुपैयाँ पारिश्रमिक समेत दिनुभएको थियो ।

शुरुमा राम्रो आहारा एवं पानी समेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले जानकारी दिनुभयो । दुब्लो, हिंड्डुल गर्न समेत खासै नसक्ने कमजोर अवस्थाको बाच्छीले शुरुको दिनमा पानी समेत नखाएकै कारण बाख्राको जुत्तो जस्तै गोट्टा दिसा गरेको बताउँदै उहाँले आफूहरुले स्याहारसुसार गर्न थालेपछि दिन प्रतिदिन राम्रो हुँदै गएको अनुभव सुनाउनुभयो ।

छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि व्यवारिसे बनेको प्रत्यक्ष देख्ने स्थानीयवासी अहिले भने नब्याउँदै दूध दिन थालेपछि दङ्ग परेका छन् । त्यसअघि सो बाच्छी करीब ४५ दिनसम्म पोखरा १७ स्थित विरुवा फाँटमा खुल्ला आकाशमुनि बस्न बाध्य थियो । पशुहरु आफू हेलित भएपनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीयवासी पण्डित कृष्णप्रसाद पौडेले बताउनुभयो ।

बाच्छाबाच्छी हुर्काउनभन्दा दूधलाई महत्व दिने हाम्रो समाजमा जीवन मरणको अन्तिम अवस्थामा पुगेको वेवारिसे बाच्छीले ब्याउनुभन्दा छ महिना अघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नु पर्ने अवस्था सिर्जना गरेको छ । “आफ्नो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेतै बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइन आज त दूध नै खाने अवसर मिल्यो”, उहाँले थप्नुभयो, “गाईको दूधमा अरुको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन् ।”

गाई र त्यसले दिएको दूध हेर्न पौडेलको घरमा पुग्नु भएका स्थानीय वासिन्दा रामचन्द्र पौडेल, भोलानाथ पौडेल, शिव पौडेललगायतले नब्याउँदै बाच्छीले दूध दिएको देख्दा अचम्भित भएको भन्दै यस्ता घटना सञ्चारमाध्यममा यदाकदा सुन्ने गरेको भएपनि आँखाले देख्ने अवसर पहिलोपटक मिलेको सामूहिक धारणा राख्नुभयो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार