रोम, १६ साउन । करिब २,२०० वर्षअघि रोमीहरूले एउटा यस्तो सहर बसालेका थिए, जहाँ धनी र शक्तिशालीहरू आफ्ना अनौठा सोखहरू पूरा गर्न जाने गर्दथे ।
वास्तवमा यो रोमी उच्च वर्गका लागि अमेरिकाको लस भेगास शहरजस्तै थियो। नेपल्सको पश्चिममा अवस्थित यस सहरको नाम ‘बाइया’ थियो, यद्यपि पछि यो समुद्रमा डुब्यो।
ईसापूर्व दोस्रो शताब्दीको अन्त्यसम्ममा ‘बाइए’ रोमका धनी तथा उच्च वर्गका मानिसहरूका लागि एक लोकप्रिय गन्तव्य बनिसकेको थियो। सिसरो, प्लिनी, निरो र सिजरजस्ता प्रसिद्ध रोमन व्यक्तित्वहरू बिदा मनाउन यहाँ आउने गर्थे । यो त्यस युगको एक प्रमुख मनोरञ्जनात्मक तथा विश्राम स्थल अझ भनौं रिसोर्ट सहर थियो।
यहाँसम्म कि, जुलियस सिजरको हत्यापछि उनकी प्रेमिका, मिस्रकी सुन्दरी महारानी क्लियोपेट्रा, आफ्नो देश फर्कन यही सहरबाट भागेकी थिइन् पनि भनिन्छ।
आज, बाइईको अधिकांश भाग समुद्र मुनि डुबेको अवस्थामा छ। सन् १९४० को दशकमा गरिएको हवाई छायाङ्कनले पहिलो पटक पानीको सतह मुनि कुनै संरचनाको अस्तित्व रहेको कुरा उजागर गरेको थियो। त्यस पछि पुरातत्वविद्हरूले उक्त स्थानको अनुसन्धान गर्दा पानी मुनि डुबेको एउटा पूरै सहर फेला पारे। आज, यो स्थल विश्वकै सबैभन्दा ठूलो पानी मुनिको सङ्ग्रहालयका रूपमा रहेको छ। पुरातत्वविद्हरूले यस क्षेत्रबाट ठूलो सङ्ख्यामा प्राचीन पुरातात्विक वस्तुहरू फेला पारेका छन्।
यहाँ पानीमा डुबेका भग्नावशेषहरू हेर्न हरेक वर्ष हजारौं पर्यटक आउँछन् तर यो क्षेत्र एउटा अहिले भने खतराको सामना गरिरहेको छ। यहाँको ज्वालामुखी पुनः सक्रिय हुँदै गएको छ, जसले गर्दा पर्यटकहरूका लागि यो क्षेत्र बन्द गर्ने विषयमा छलफल चलिरहेको छ।
पानी मुनीको बाइया शहर ‘फ्लेग्रियन फिल्ड्स’ मा अवस्थित छ, जुन एउटा ‘सुपरभल्कानो’ अर्थात विशाल ज्वालामुखीको हिस्सा रहेको विशाल ‘काल्डेरा’ अर्थात ज्वालामुखीको मुखजस्तो ठूलो खाडल हो। यस क्षेत्रमा ज्वालामुखीका साना निकासहरू प्रशस्तै छन्। यस क्षेत्रमा म्याग्मा माथि उठ्दा जमिन पनि माथि उठछ, यसको विपरीत म्याग्मा तल झर्दा जमिन पनि भासिन्छ।
फलस्वरूप, यस क्षेत्रको जमिन कहिले समुद्र सतहभन्दा माथि उठ्छ त कहिले तल भासिने गरिदै आएको छ। यही बेला फेरी त्यहाँको ज्वालामुखी सक्रिय हुने देखिए पछि यो शहरको अस्तित्वका बिषयलाई लिएर नयाँ बहस सुरू भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया