श्रावण १६, २०८३ शनिबार August 1, 2026

मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह

इजरायलमा रहेकालाई नजिकको सुरक्षित आश्रयस्थलको खोज्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अम्मान, १६ साउन (रासस/एएफपी): मध्यपूर्वका धेरै राजधानीमा रहेका अमेरिकी दूतावासहरूले अमेरिकी नागरिकहरूलाई क्षेत्रीय द्वन्द्वमा ‘अनपेक्षित तीव्रता’ बढ्न सक्नेबारे सचेत गराउँदै त्यहाँबाट प्रस्थान गर्न तयार रहन आग्रह गरेका छन्।

“क्षेत्रमा रहेका अमेरिकीहरूले प्रस्थान गने सोच बनाइराख्नुपर्छ वा युद्धको तीव्रता बढेमा प्रस्थान गर्न तयार रहनुपर्छ,” सुरक्षा सतर्कतामा भनिएको छ। अम्मान, जेरुसेलम, मस्कट, बगदाद र बेरुतस्थित अमेरिकी मिसनहरूले यो सूचना सामाजिक सञ्जालमार्फत् पोस्ट गरेका छन् ।

सन्देशमा नागरिकहरूलाई उडान विवरण जाँच गर्न र स्थानीय अधिकारीहरूको सुरक्षा सल्लाह पालना गर्न आग्रह गरिएको छ ।

“मध्यपूर्वमा हाल रहेका अमेरिकीहरूले सावधानी र उच्च सतर्कता अपनाउनुपर्छ तथा उडान रद्द हुनसक्ने, समय–समयमा हवाई क्षेत्र बन्द हुनसक्ने र सम्भावित यात्रा व्यवधानका लागि तयार रहनुपर्छ,” यसमा भनिएको छ।

जोर्डनमा रहेका अमेरिकीहरूलाई हालै इरानी मिसाइल आक्रमणको निसाना बनेका त्यहाँका अमेरिकी सैन्य आधारहरूमा नजान भनिएको छ । इजरायलमा रहेकालाई नजिकको सुरक्षित आश्रयस्थलको खोज्न आग्रह गरिएको छ ।

अमेरिकी दूतावास जेरुसेलमको वेबसाइटमा पोस्ट गरिएको सन्देशमा भनिएको छ, “यहाँका विभिन्न क्षेत्रहरूमा बिना चेतावनी वा उत्तेजक आक्रमण गर्ने तथा इजिप्टजस्ता पहिले निसाना नबनेका क्षेत्रहरूमा आक्रमण विस्तार गर्ने हालैका निर्णयहरूबाट इरानी शासन अप्रत्याशित छ भन्ने देखिएको छ।”

बेरुतस्थित अमेरिकी दूतावासले मिसन अझै ‘तोकिएको स्थान’ मा रहेको बताएको छ, जसको अर्थ गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारीहरू अझै लेबनान बाहिर रहेका छन् ।

बुधबार इजिप्टको एउटा बन्दरगाहमा बाँधिएको अमेरिकी स्वामित्वको ग्यास जहाजमा ड्रोन आक्रमण भएको थियो । आक्रमणबाट जहाजमा आगो लागेको थियो । इजिप्टले यस घटनाबारे अनुसन्धान गरिरहेको बताएपनि अहिलेसम्म कुनै समूहलाई आक्रमणको आरोप लगाएको छैन ।

यसैबीच इरानको सेनाले वासिङ्टनलाई क्षेत्रमा ‘तनाव बढाएको’ आरोप लगाउँदै चेतावनी दिएको छ, “अपराधी र आक्रामक अमेरिकाको रक्षात्मक ढालको रूपमा काम गर्ने कुनै पनि देश युद्धमा तानिने छ ।”

यो हप्ता इरान र अमेरिकाबीच केही दिनको शान्तिपछि रातभरि गोलीबारी पुनः सुरु भएको थियो, यद्यपि शुक्रबार रातिदेखि शनिबारसम्म कुनै आक्रमणको रिपोर्ट भएको छैन ।

मध्यपूर्व युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका दिनदेखि सुरु भएको थियो । इरानले खाडी क्षेत्रभरि मिसाइल र ड्रोन आक्रमण गरेर आक्रमणको जवाफ दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार