काठमाडौंः नेपाली फिल्म निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा अभिनेता, निर्देशक तथा निर्माता नवल खड्का निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा चलचित्रकर्मी खड्काको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
पाँच वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा यही भदौ १८ गते शनिवार सञ्चालन हुँदैछ ।
अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध चुनिएको छ । अध्यक्षपछिको महत्वपूर्ण पद महासचिवमा निर्माता सुनिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । थापा ‘ए मेरो हजुर’ सीरीजका निर्माता हुन् ।
संघको उपाध्यक्षमा उदय सुब्बा तथा दीपेन्द्र के खनाल निर्विरोध चयन भएका छन् भने सचिवमा किसान पोखरेल तथा कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भएका छन् ।
संघको सदस्यहरूमा भने माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध चयन भएका छन् ।
सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएपछि अब निर्माता संघले चुनावी साधारण सभाबाट औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा गर्नेछ ।
यसअघि आकाश अधिकारी पनि संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । मनोरञ्जनखबर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया