कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

म सबैको विनम्रतापूर्वक कुरा सुन्न र मिलेर अघि बढ्नका लागि तयार छु । – अर्थमन्त्री बिष्णु पौडेल (अन्तवार्ता)

सरकारमा सहभागी भएका राजनीतिक दलहरूको सहयात्रा आगामी पाँच वर्षसम्मका लागि अविच्छिन्न रहन्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तपाईंले पहिलोपटक अर्थमन्त्रीको जिम्मेवारी पाउँदा भूकम्पपछिको पुनर्निर्माण र नाकाबन्दीको चुनौती सामना गर्नुपर्यो, दोस्रो कार्यकालका वेला कोभिड महामारीले मुलुक ठप्पप्रायः थियो । अहिले देश गम्भीर आर्थिक संकटमा छ । कत्तिको दबाब महसुस गर्नुभएको छ ?

यहाँले केही पूर्वप्रसंगहरूको चर्चा गरेर स्मरण गराउनुभयो । साँच्चै नै पहिलोपटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा भूकम्पपछिको पुनर्निर्माणको अभिभारा र त्यसमाथि थपिएको नाकाबन्दीको सामना गर्नुपरेको थियो । वास्तवमा ती गम्भीर समस्या तथा चुनौती हाम्रा सामुन्ने थिए, त्यसलाई हामीले सफलतापूर्वक सामना र समाधान गर्दै मुलुकलाई अगाडि लैजान सक्यौँ ।

त्यसैगरी, दोस्रो कार्यकालमा कोभिडले विश्वव्यापी रूपमा चुनौती सिर्जना गरेको थियो, जसबाट नेपाल पनि गम्भीर रूपमा प्रभावित थियो । त्यस्तो अवस्थामा अर्थतन्त्रका समस्यालाई सम्बोधन गर्दै एउटा सबल अर्थतन्त्र निर्माणको गतिलाई अवरुद्ध हुन नदिने चुनौती हामीसामु थियो । त्यस कालखण्डमा पनि तुलनात्मक रूपमा सकारात्मक कदमहरू चाल्न सकियो र अर्थतन्त्रका समस्त परिसूचकलाई बिग्रनबाट जोगाउन सकियो । पृष्ठभूमिका यी सन्दर्भ मेरा आफ्नै लागि पनि प्रेरणाका विषय हुन् ।

मलाई थाहा छ– यतिवेला मुलुकको अर्थतन्त्रमा केही सामान्य र केही गम्भीर प्रकृतिका समस्या देखिएका छन् । मेरो जिम्मेवारी समस्याको वर्णन गर्ने होइन, समाधान दिने हो । अर्थतन्त्रका समस्या वर्णन गरेर समय व्यतित गर्ने अनुमति मलाई छैन । अहिले अर्थतन्त्रमा देखिएका समस्या हाम्रो काबुभन्दा बाहिर छन् जस्तो लाग्दैन । अन्तर्राष्ट्रिय सन्दर्भ, राष्ट्रिय सन्दर्भ र हाम्रा विगतका राम्रा र नराम्रा अनुभवबाट शिक्षा लिँदै आजको मुलुकको यथार्थ आर्थिक अवस्थामाथि उभिएर चुनौतीलाई चिर्दै अघि बढ्न सकिन्छ भन्ने मेरो आत्मविश्वास हो, त्यही हिसाबले म अघि बढ्छु ।

तपाईंकै शब्दमा ‘अर्थतन्त्र संकटको डिलमा’ छ । यो संकटबाट अर्थतन्त्रलाई सहज अवस्थामा ल्याएर गति दिने के योजना छन् ?

म तपाईंसँग अहिल्यै मेरा तत्कालका योजना प्रस्तुत गर्दिनँ । मैले शपथग्रहण गर्नुअघिसम्म मुलुकको अर्थतन्त्रलाई बाहिरबाट अध्ययन र अवलोकन गरिरहेको थिएँ, समस्याबारे बाहिरबाट जानकारी लिने कोसिस गरेको थिएँ । जतिवेला मैले शपथग्रहण गरेर पदभार ग्रहण गरेँ त्यसपछि म प्रणालीभित्र आएको छु, जिम्मेवारीमा आएको छु । अहिले मैले मन्त्रालयको नेतृत्वमा रहेर अर्थतन्त्रका समस्याहरू के–के हुन्, त्यसको दायरा र प्रभाव कस्तो छ ? यी समस्या किन सिर्जना भए ? यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के छन् ? हाम्रा व्यवस्थापकीय कमजोरी के–कति छन् ? यी सबैको सूक्ष्म अध्ययन गरिरहेको छु । अध्ययनसँगै समाधान पनि खोज्नेछु । त्यसपछि म समस्या र समाधानसहित तपाईंहरूमाझ प्रस्तुत हुनेछु । सामान्यतः समस्या के हो त्यो थाहा नभएको होइन, समाधानको उपायहरू के हुन सक्छन् भन्ने दृष्टिकोण पनि नभएको होइन, तर त्यसका लागि व्यवस्थित रूपमा प्रस्तुत हुन अझै केही दिन लाग्नेछ ।

अर्थतन्त्रमा गम्भीर विरोधाभाष र अन्तर्विरोध देखिएको छ । बाह्य क्षेत्रमा देखिएका चाप कम गर्न चालिएका आयात निरुत्साहन, ब्याजदर वृद्धिलगायतका कदमले आन्तरिक उद्योग–व्यवसायलाई शिथिल बनाउनुका साथै सरकारी राजस्वसमेत घटेको छ । एउटा क्षेत्रको सुधार गर्दा अर्को क्षेत्र प्रभावित हुने अवस्था छ । यसलाई कसरी मिलाएर लैजानुहुन्छ ?

कुनै पनि निर्णय लिँदा अथवा कुनै पनि निष्कर्षमा पुगिरहँदा त्यसका परिणामहरू के हुन्छन् भनेर सूक्ष्म विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसो नगर्दा कुनै निर्णयबाट एउटा क्षेत्रमा सकारात्मक नतिजा प्राप्त हुने र अर्कोमा समस्या पैदा हुने हुन्छ । वास्तवमा हामीले गर्ने निर्णयहरू समग्रतामा सन्तुलनकारी हुनुपर्छ । एउटा निर्णयले अर्को अनपेक्षित समस्या सिर्जना नहोस्, एउटा समाधान खोज्दा अर्को कठिन समस्या नजन्मियोस् भन्नेमा ख्याल गर्नुपर्छ । सबै दृष्टिकोणले सन्तुलनकारी समाधान खोज्नुपर्छ । समग्रतामा अर्थतन्त्रका समस्याको विवेचना गर्दै समग्र समाधान खोज्ने हो । अर्थतन्त्रको अंश–अंशको विवेचना र समाधान खोज्ने होइन, समग्र परिस्थितिको विवेचना र विश्लेषण गरेर समग्रतामा समाधान खोज्ने हो।

अर्थ मन्त्रालय र केन्द्रीय बैंकको नेतृत्वबीच मनमुटाव हुँदा अर्थतन्त्रले लय गुमाएको विश्लेषण पनि हुने गरेको छ । यसमा तपाईंको मूल्यांकन-विश्लेषण के छ ?

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच अत्यन्त जीवन्त र हार्दिक सम्बन्ध हुनुपर्छ । त्यो घनिष्ठ सम्बन्धलाई परिभाषित गर्ने आधार विद्यमान कानुन हो । कानुनले कसलाई के अधिकार दिएको छ, त्यसभित्र रहेर काम गर्नुपर्छ । राष्ट्र बैंक आफ्नो कानुनी प्रबन्धअनुसार परिचालित छ । उसलाई क्षेत्राधिकारमा स्वतन्त्र ढंगले निर्णय गर्ने अधिकार कानुनले दिएको छ । अर्थ मन्त्रालयले त्यसमा हस्तक्षेप गर्न मिल्दैन । अर्थ मन्त्रालयले गर्ने काम–कर्तव्यमा हस्तक्षेप गर्ने काम राष्ट्र बैंकले पनि गर्दैन । दुवैको सीमा कानुनले निर्धारण गरिदिएको छ । यी दुई संस्थाबीच अन्तर्विरोध सिर्जना भयो भने त्यसको परिणाम मुलुकका निम्ति महँगो पर्न जान्छ । त्यो स्थिति नआओस् भन्नका लागि होसियार रहनुपर्छ।

अहिले निजी क्षेत्र चालू पुँजी कर्जा मार्गदर्शनको स्थगन र ब्याजदर नियन्त्रणजस्ता माग लिएर आन्दोलित बनेको छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निजी क्षेत्रका साथीहरूका माग के रहेछन् भनेर बुझेको छु । उहाँहरूको कुरा मैले एक्लै सुनेको छैन । दायाँबायाँ राष्ट्र बैंकको नेतृत्व र अर्थ मन्त्रालयका साथीहरू राखेर सुनेको छु । हामीले समस्या सुनेका छौँ । यी समस्या छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने विश्वास बोकेर अघि बढेका छौँ । निजी क्षेत्रलाई आन्दोलन होइन, छलफलका लागि मैले आह्वान गरिसकेको छु । निजी क्षेत्र र सरकार नदीका दुई किनारा होइन । हामी एउटै डुंगाका यात्री हौँ । डुंगामा प्वाल प¥यो भने हामी सबै डुब्छौँ । समस्यामा केन्द्रित भएर छलफल गरेर समाधान निकालौँ भनेर आह्वान गरेका छौँ । उहाँहरू यसमा सकारात्मक हुनुहुन्छ ।

नेपालले वार्षिक ६ खर्ब हाराहारीको कृषिलगायत उपभोग्य वस्तु आयात गर्छ । संविधानले आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गरेको छ । तर, किसानले समयमै मल तथा बिउ नपाउने, उखुको भुक्तानी नपाउने, कृषि वस्तुको समर्थन मूल्य समयमै नतोकिने, तोकिएपछि पनि सरकारी निकायले समयमै खरिद नगरिदिने, चिस्यान केन्द्र, भण्डारलगायत सुविधा र बजार नपाउनेजस्ता समस्या छन् । कसरी सम्बोधन गर्नुहुन्छ ?

निश्चित रूपमा हामी खाद्यान्न, मासु, दूधजन्य उत्पादनमा आत्मनिर्भर हुन सक्छौँ । त्यसका लागि हामीले उत्पादन वृद्धि, बजारीकरण र उत्पादकले पाउने उत्पादनको उचित मूल्यमा ध्यान दिनुपर्नेछ । उत्पादकले छिमेकी मुलुकको तुलनामा प्रतिस्पर्धी मूल्य पाउनुपर्छ । उनीहरूले उचित लाभ लिन सक्ने अवस्था बनाउनुपर्छ । केही नीतिगत सहजता आवश्यक परे त्यसमा पनि काम गर्नुपर्छ ।

सरकारले पुँजीगत खर्च गर्न गर्न नसक्दा समग्र अर्थतन्त्रमा असर परिरहेको छ । पुँजीगत खर्च किन लक्ष्यअनुसार र अपेक्षाकृत हुन सकेको छैन ? 

पुँजीगत खर्च नहुने विडम्बना छ, यसमा शक्तिशाली पहलको खाँचो छ । पुँजीगत खर्च न्यून हुँदा त्यसले हाम्रो अर्थतन्त्रमा बहुआयामिक असर पारेको छ । विद्यमान कानुनमा पुनरावलोकन गर्नुपर्ने भए त्यो पनि गरौँला । यो अवस्थाको लामो समयसम्म पुनरावृत्ति हुँदैन भन्ने लाग्छ । तालुक निकायसँग पनि समन्वय गरेर, विगतका अनुभव केलाएर, विकासविद्हरूसँग सल्लाह लिएर हामीले यो समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ ।

अहिले राजस्वले चालू खर्चसमेत धान्न नसकेको अवस्था छ । तलब–भत्ता खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था छ । राजस्व वृद्धिका लागि के योजना बनाउनुभएको छ ?

मन्त्रालयमा आएपछि मैले राजस्व परिचालनसँग सम्बन्धित निकाय तथा अधिकारीहरूसँग दुई महत्वपूर्ण बैठक गरिसकेको छु । राजस्व परिचालनको पछिल्लो अवस्था र समस्याबारे जानकारी पनि लिएको छु । त्यसलगत्तै सम्बन्धित अधिकारीहरूलाई राजस्व परिचालनमा जे–जस्ता समस्या छन्, त्यी समस्याको गहिराइमा गएर समाधान खोज्ने काम गर्न स्पष्ट रूपमा निर्देशन पनि दिइसकेको छु ।

अहिले राजस्व संकलनमा जुन ढंगले न्यूनता देखिएको छ, त्यो मलाई कुनै पनि हालतमा मान्य छैन । यसबीचमा लक्ष्यको तुलनामा न्यून र गत आवको यसै अवधिको तुलनामा पनि न्यून राजस्व संकलन भएको छ, त्यो मेरा लागि गम्भीर चिन्ता र चासोको विषय हो । तसर्थ, मैले सबै अधिकारीलाई कानुनले दिएको अधिकार प्रयोग गरेर प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएको छु । साथै, राजस्व संकलनमा कुनै पनि प्रकारका लिकेज हुन नदिन पनि सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छु ।

राजस्व संकलन गर्ने मामलामा गल्ती गर्नेहरूलाई शून्य सहनशीलताको साथमा व्यवहार गर्ने र राम्रो गर्नेलाई पुरस्कृत गर्ने मेरो योजना छ । मुख्यतः स्वच्छ ढंगले व्यवसाय गरेर कर तिर्ने निर्दाेष व्यक्तिहरूलाई दुःख नदिने र दोषीहरूलाई उन्मुक्ति नदिने मेरो लक्ष्य हो । तसर्थ, दोषीले उन्मुक्ति पाउने र निर्दाेष पीडित हुने अवस्था नआओस् भन्ने मान्यताको साथ काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।

कर संकलनमा हुने लिकेजलाई सम्पूर्ण ढंगले नियन्त्रण गर्ने गरी काम गर्न निर्देशन दिएको छु । यसैको आधारमा सम्बन्धित अधिकारीहरूको मूल्यांकन हुनेछ । यसमा मेरो कुनै आग्रह हुँदैन । मलाई काम चाहिन्छ, परिणाम चाहिन्छ ।

पछिल्लो राजस्व परिचालन र खर्चको अवस्था हेर्दा चालू आर्थिक वर्षको बजेटका लक्ष्यहरू संशोधन गर्ने अथवा पूरक बजेट ल्याउने सम्भावना के छ ?

तपाईंले सोधेको यस प्रश्नमा जवाफ दिने वेला भइसकेको छैन । यसमा हतार नगरौँ होला।

पछिल्लो समय वृद्धभत्तालगायत नगद बाँड्ने कार्यक्रम ल्याउन र त्यसलाई बढाउन दलहरूबीच प्रतिस्पर्धा देखियो । तपाईंमाथि पनि अघिल्ला कार्यकालमा वितरणमुखी कार्यक्रम र योजना धेरै ल्याएको आरोप छ । राज्यलाई दीर्घकालीन भार थप्ने यस्ता कार्यक्रममा प्रतिस्पर्धा नगरी जनता खुसी पार्न सकिँदैन ? सामाजिक सुरक्षामा तपाईंका योजना के छन् ?

वितरणमुखी कार्यक्रमबारे म के भन्छु भने राज्यका केही अभिभारा छन्, संविधानले नै नागरिकलाई पर्याप्त अधिकार प्रदान गरेको छ । आमनागरिकको सिंगो जीवनचक्रमा आधारित भएर राज्यले नागरिकहरूप्रति विभिन्न अधिकार दिनुपर्छ । सोहीअनुसार नै हामी प्रस्तुत हुनुपर्नेछ । तर, संविधानले प्रत्याभूत गरेका अधिकार उपभोग गर्न राज्यको आर्थिक सामथ्र्य बलियो हुनुपर्छ । राज्य आर्थिक रूपमा जति बलियो हुन्छ, त्यही अनुपातमा संविधानले प्रत्याभूत गरेका अधिकार नागरिकलाई दिनुपर्छ ।

तसर्थ, सबैभन्दा पहिला राज्यलाई आर्थिक दृष्टिकोणले सबल, सुदृढ र शक्तिशाली बनाउनुपर्छ भन्ने हो । र, त्यही अनुपातमा नागरिकप्रतिको दायित्व पूरा गर्दै जानुपर्छ भन्ने हो । राज्यको आर्थिक सामथ्र्य र नागरिकप्रतिको दायित्वबीच सन्तुलनकारी सम्बन्ध हुनुपर्छ, म सोहीअनुसार नै अघि बढ्नेछु ।

पूर्वाधार विकासका लागि स्रोतको ठूलो ग्याप छ । त्यसैले बढीभन्दा बढी विदेशी लगानी, अनुदान र ऋणको खाँचो देखिन्छ । तर, विदेशी लगानीदेखि ऋण र सहायता लिने विषयमा राजनीतिक विवाद पनि हुने गरेका छन्, जसले गर्दा लगानीकर्ता र विकास साझेदारसमेत चिढिएका थुप्रै उदाहरण छन् । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

विदेशी ऋण, सहयोग तथा सहायता परिचालन गर्ने सन्दर्भमा हाम्रा केही स्पष्ट मान्यता छन् । हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा विदेशी सहयोग परिचालन गर्छौँ । साथै, विदेशी सहायताबाट यथोचित प्रतिफल प्राप्त होस् भन्ने पनि हाम्रो चाहना हो । त्यसबाहेक यसको अधिकतम् प्रयोग र नेपालीको हितमा होस् भन्ने चाहना पनि हो । सोहीअनुसार नै विदेशी ऋण, सहयोग तथा लगानी परिचालन गर्ने हाम्रो नीति छ ।

नेपाल लोकतान्त्रिक प्रणालीअन्तर्गत अगाडि बढेको छ । सोही प्रणालीबाट बनेको संविधान छ । जनताले निर्वाचित गरेका जनप्रतिनिधि छन् । र, सोही जनप्रतिनिधिले बनाएको सरकार छ, जुन सरकार जनताप्रति उत्तरदायी छ । साथै, सरकार आफैँमा डेमोक्रेटिक छ । त्यो सरकारसँग खुलेर सहकार्य गरी नेपालको विकास अभियानमा साथ दिन म यसै सञ्चारमाध्यममार्फत विदेशी विकास साझेदार तथा मित्रराष्ट्रहरूलाई आग्रह गर्दछु । सबैलाई दिल फुकाएर नेपालको विकासमा साथ दिन आग्रह गर्छु ।

अहिले गठबन्धन सरकार छ । तपाईंहरू फरक–फरक घोषणापत्र लिएर जनतामा जानुभयो र अनुमोदित भएर सत्तामा आउनुभएको छ । अब कुन दलको घोषणापत्रअनुसार काम हुन्छन् ?

यसलाई म गठबन्धनको सरकार भन्दिनँ, यो विभिन्न राजनीतिक पार्टीहरूको बीचको संयुक्त सरकार हो । कुन पार्टीको घोषणापत्र बढी र कुनको कम कार्यान्वयन हुन्छ भन्ने छैन । सरकारमा सहभागी भएका राजनीतिक दलहरूको घोषणापत्रलाई पनि हेक्का राखेर एउटा साझा न्यूनतम कार्यक्रम तय हुन्छ । यो सरकार त्यो साझा न्यूनतम कार्यक्रमको आधारमा अघि बढ्छ । सरकारमा सहभागी भएका राजनीतिक दलहरूको सहमतिमा सरकारले न्यूनतम कार्यक्रम अघि सार्छ । त्यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्दै अघि बढ्छौँ ।

आर्थिक सुधारका लागि स्थिर सरकार कति महत्वपूर्ण छ ? अहिलेको गठबन्धनले पाँच वर्ष सरकार चलाउन सक्छ कि सक्दैन ?

आर्थिक विकासका लागि राजनीतिक स्थायित्व धेरै महत्वपूर्ण विषय हो । राजनीतिक स्थायित्वविना आर्थिक सुधार गर्न निकै चुनौतीपूर्ण हुन्छ । त्यसकारण राजनीतिक स्थिरतालाई हामीले बढी जोड दिने गरेका हौँ । तर, राजनीतिक स्थिरता भन्दै गर्दा अहिले आएको संसद्को अवस्थालाई हेर्ने हो भने विभिन्न राजनीतिक दलहरू गठजोडबाट नै अघि बढ्नुपर्छ भन्ने कुराको सन्देश दिएको छ । यो निर्वाचनको नतिजाले पनि हामीलाई निर्देशित गरेको छ । त्यसअनुरूप नै यो सरकार बनाएका छौँ । जहाँसम्म यो सरकारको भविष्य र स्थायित्वको कुरा गर्नुभयो, म यहाँसमक्ष बहुत स्पष्ट भाषामा भन्न चाहन्छु कि अहिले सरकारमा सहभागी भएका राजनीतिक दलहरूको सहयात्रा आगामी पाँच वर्षसम्मका लागि अविच्छिन्न रहन्छ । बरु, अहिले सरकारमा सहभागी जति दलहरू छौँ, त्यसको दायरा अझ फराकिलो बन्दै जाने सम्भावना छ ।

अन्त्यमा, अर्थतन्त्रका हिस्सेदार अथवा सरोकार राख्ने निजी क्षेत्र, अर्थशास्त्री/विज्ञलगायतलाई केही भन्न चाहनुहुन्छ ?

अहिले हामी आर्थिक दृष्टिले केही समस्यामा छौँ भन्ने आमबुझाइ छ । समग्रमा आर्थिक क्षेत्रलाई सबल बनाउनका निमित्त सरकारमा सहभागी राजनीतिक दलहरूबीच मात्रै होइन प्रतिपक्षमा रहेका राजनीतिक दलहरूको पनि घनिष्ट सम्बन्धको खाँचो छ ।

आर्थिक क्षेत्रका विभिन्न संस्थाको बीचमा पनि एउटा सघन सहकार्यको खाँचो छ । आर्थिक क्षेत्रमा जोडिएका सम्पूर्णलाई अहिलेको अवस्थामा मिलेर जाऔँ भन्ने अपिल गर्न चाहन्छु । म सबैको विनम्रतापूर्वक कुरा सुन्न र मिलेर अघि बढ्नका लागि तयार छु । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार