काठमाण्डौंः सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे)को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा (एमाले)का नीरध्वज कार्की निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले तीन सय ७९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापाले तीन सय ७८ मत प्राप्त गरेका थिए । कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए ।
वडा अध्यक्षका रुपमा हाल कार्की कार्यरत छन् । पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमै मतपत्र झिकाएर गणना गरिने छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया