चैत्र १६, २०८० शुक्रबार March 29, 2024

काँग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही पुगिन् नुल्यान्ड

आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आज बिहान धुम्बाराहीस्थित निवासमा पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन्। भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।

दुई दिने भ्रमणमा आइतबार काठमाडौं अवतरण गरेकी नुल्यान्डले आजदेखी भेटवार्ता सुरु गरेकी हुन्। नुल्यान्डले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेकी थिईन् । प्रधानमन्त्रीसँगको भेटमा साझेदारीको बृहत् एजेन्डामा छलफल भएको जनाइएको छ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार  नुल्यान्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।  उनी सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी हुन् ।

अमेरिकाका विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति सम्बद्ध अल्ब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरिसकेकी उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनको ३३ वर्ष लामो अमेरिकी कूटनीतिक यात्राका क्रममा पूर्वराष्ट्रपति बाराक ओबामा कार्यकालमा युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्य गरेकी थिइन् । त्यस्तै हिलारी क्लिन्टन विदेशमन्त्री हुँदाका बखत अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यस्तै पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकालमा नेटोका लागि अमेरिकी राजदूत, त्यसअघि युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा वार्ताकार र सन् २००३ ताका तत्कालीन अमेरिकाका उपराष्ट्रपति चेनीको सुरक्षा सल्लाहकारका रूपमा उनले काम गरेकी थिइन् ।

रुस, चीन, मङ्गोलिया तथा अमेरिकाको विदेश मन्त्रालयभित्र पनि उनको  विभिन्न भूमिकाको कार्यानुभव रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया