काठमाडौँ । केन्द्रीय कारागार, सुन्धारामा रहेको अस्पतालमा कार्यरत दुई जना नर्समा गरिएको र्यापिड टेस्टमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यस कारागारमा रहेका ३ हजार एक सय ५० कैदीबन्दी जोखिममा देखिएका छन्।
केन्द्रीय कारागार देशकै सबैभन्दा ठूलो कारागार हो। यहाँ कैदीबन्दीको उपचारका लागि केन्द्रीय अस्पतालसमेत रहेको छ। अस्पतालमा उपचार गराइरहेका १५ जना बिरामीसहित चिकित्सक र नर्समाथि र्यापिड टेस्ट गरिएको थियो।
अन्यको परीक्षण नेगेटिभ आएपनि दुई जनाको भने पोजेटिभ आएपछि थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ। उनीहरुमा कोरोना संक्रमण रहेको नरहेको अन्तिम निर्णय टेकु प्रयोगशालाको रिपोर्टपछि मात्र थाहा हुने छ। यसअघि देशका विभिन्न स्थानमा र्यापिड टेस्टमा पोजेटिभ देखिएकाको थ्रोट स्वाब टेकु अस्पतालमा परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।
केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले पहिलो चरणमा कारागारमा रहेको अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा र्यापिड टेस्ट गरिएको जानकारी दिएका छन। परीक्षण किट्सको अभावमा कैदीबन्दीको परीक्षण भने सुरु गर्न नसकिएको उनको भनाई छ। ती दुई जना नर्समा कोरोना पोजेटिभ देखिए संकट गहिरिन सक्ने अधिकारीहरु बताउँछन्।
जेलर बास्कोटा भन्छन् : हरेक दिन कैदीबन्दी अस्पतालमा आएर उपचार गराइरहेका हुन्छन्। त्यतिबेला सम्पर्कको सम्भावना हुन सक्छ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन सुरु गरेयता देशभरका सबै कारागारमा बाहिरबाट आउनेलाई भेटघाट बन्द गरिएको छ। मंगलबारको तथ्यांकअनुसार केन्द्रीय कारागारमा ३ हजार १ सय ५० जना कैदीबन्दी र १० जना बालबालिका छन्।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले टेकु अस्पतालले परीक्षण गरेपछि कोरोना संक्रमण भएनभएको पुष्टि हुने भएकाले त्यसपछि आवश्यक प्रकृया अगाडि बढाइने जानकारी दिएका छन।
परीक्षण पोजेटिभ आएमा क्वारेन्टाइन र आइसोलेशनका कामहरु अगाडि बढाइने छन्: डीएसपी बोगटीले भने।
कोरोना भाइरसको महामारीमा नेपालका कारागारहरु उच्च जोखिममा छन्। क्षमताभन्दा ३/४ गुणा कैदीबन्दी रहेकाले कारागारमा चाँडै संक्रमण फैलन सक्ने विश्लेषण हुँदै आएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया