वैशाख १३, २०८१ बिहिबार April 25, 2024

कैलाली कारागारका ३० जना प्रहरीको जिम्मेवारी खोसियो

जेलरकै संलग्नतामा लागुऔषधको कारोबार हुने गरेको गुनासोपछि कारागारालाई व्यवस्थित बनाउन जिम्मेवारी हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कैलाली कारागारमा लागुऔषधको कारोबार गरेको गुनासोपछि प्रमुखसहितका ३० जना प्रहरीको जिम्मेवारी खोसिएको छ। जेलरको पनि सरुवा प्रक्रिया अघि बढेको छ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको हो। उनीहरुको ठाउँमा बिहीबार नयाँ प्रहरी कर्मचारी पठाइएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको जानकारी दिए । उनका अनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया समेत प्रशासनले अघि बढाएको छ।

‘कारागारको प्रशासन प्रमुख (जेलर) र सुरक्षाकर्मीको विषयमा लागुऔषध कारोबार जस्ता विषयमा प्रश्न उठेपछि जिम्मेवारी हेरफेर गरिएको हो,’ सप्रजिअ जोशीले भने, ‘प्रहरीतर्फको प्रमुख फेरिएका छन्। जेलरलाई पनि परिवर्तन गर्ने प्रक्रिया अघि बढेको छ। भोलिसम्म मन्त्रालयले अर्को व्यक्ति पठाउँछ होला।’ जोशीका अनुसार जेलर थापाको ठाउँमा अर्को व्यक्ति पठाउन प्रशासनले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने नियमित प्रक्रिया अन्तर्गत सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए। प्रहरीतर्फका प्रमुख अवस्थीसहितका सुरक्षार्थ खटिएका ३० जना प्रहरीलाई फिर्ता बोलाउदै उनीहरुका ठाउँमा नयाँ पठाइएको उनको भनाइ छ।

प्रहरी वरिष्ठ नायब निरीक्षक चरन बुढाथापालाई कारागारको सुरक्षा प्रमुखका रुपमा खटाइएको डीएसपी जोशीले जानकारी दिए। गत कात्तिकमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवलदार अपिल भाटलाई पक्राउ गरेको थियो। भाट अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

जिल्ला प्रहरी कार्यालय लागुऔषध कारोबार र सेवन सम्बन्धीको प्रकरण पूरानै भएको बताउदै अहिले नियमित कार्यतालिकाअनुसार सुरक्षाकर्मी हेरफेर गरेको दाबी गरेको छ। तर स्थानीय प्रशासनले भने कारागारमा जेलरकै संलग्नतामा लागुऔषधको कारोबार हुने गरेको गुनासोपछि कारागारालाई व्यवस्थित बनाउन जिम्मेवारी हेरफेर गर्नुपरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया