काठमाडौँ । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने बेलायतबाट फर्केका कोरोना भाइरस संक्रमित आमा र छोरा पाटन अस्पतालमा भर्ना भएको १० दिनपछि कोरोना भाइरस मुक्त भएर डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा बिहीबार यसबारे जानकारी दिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा भर्ना भएका आमाछोरा कोरोना भाइरस संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएको जानकारी दिएका हुन्।
डिस्चार्ज भएका आमाछोरासँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ।
उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको थियो। बेलायतबाट फर्केको चार सातापछि सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारका तीनमा आरडिटी परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआरबाट परीक्षण गर्दा आमा र छोरामा कोरोना भाइरस संक्रमण देखिएको थियो। यद्यपि बुहारीमा भने पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिजल्ट आएको थियो।
८१ वर्षीया आमा र ५८ वर्षीय छोरा भने १० दिनको अस्पताल बसाइपछि स्वाब नेगेटिभ आएर डिस्चार्ज भई घर फर्केका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया