काठमाण्डौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहेको बताएका छन्।
झापाको कन्काई नगरपालिका वडा नं. ९ मा राजवंशी समाज विकास समितिले आयोजना गरेको राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पार्टीले पहिचानको मुद्दालाई जारी राख्ने बताए। आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको बताउँदै उनले प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए।
‘एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ’ उनले भने, ‘कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले अवश्य प्रतिफल प्राप्त गर्छ।’
मन्त्री मोदीले १ नम्बर प्रदेशको नाम कोशी राखिसके पनि पहिचानसहितको नामका लागि संघर्ष जारी रहने बताए। ‘१ नम्बर प्रदेशको नामकरण भइसकेको छ, हामी पहिचानसहितको नामकरणकै पक्षमा थियौँ, तर कांग्रेस र एमालेले कोशीबाहेकको नाम सुन्नै चाहेनन्’, उनले भने, ‘संघर्षको अध्याय सकिएको छैन, पहिचानसहितको नामकरणको लागि हाम्रो संघर्ष झन् कठोर भएर अगाडि बढ्छ ।’
मन्त्री मोदीले माओवादी आन्दोलनले नै पहिचानको आन्दोलन जन्माएको बताउँदै भने, ‘पहिचानकै लागि माओवादीले १० वर्षे जनयुद्ध गरेको हो, हजारौँ सहिदले बलिदानी गरेका हुन्, लाखौँ घाईते अपाङ्ग र टुहुरा भएका हुन् । त्यसैले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहन्छ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया