कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गण्डकीमा सत्ता फेरबदलको तयारी, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनासाथ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्यूँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ।

गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो।

अहिले गण्डकी प्रदेशको सरकार नेकपा (एमाले)को नेतृत्वमा छ। माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनासाथ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।

‘प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे गठबन्धन दलको शीर्ष तहमा छलफल भइरहेको छ, एक/दुई दिन भित्रैमा त्यसको टुङ्गो लाग्ला’, उनले भने, ‘गण्डकीमा पनि माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अर्को सरकार बनाउने प्रक्रिया सुरु हुन्छ।’

आठ प्रदेशसभा सदस्य (सभामुखसहित) रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अहिलेको सरकार अल्पमतमा पर्छ। सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई प्रदेशसभा सदस्यको समर्थन छ। साठी सदस्यीय प्रदेशसभामा राप्रपाले मात्र समर्थन फिर्ता लिँदा पनि सरकारले बहुमत गुमाउँछ ।

सङ्घ र अरू केही प्रदेश सरकारबाट हटेको राप्रपाले गण्डकीबाट भने अझै बाहिरिने निर्णय गरेको छैन। गण्डकी सरकारमा मुख्यमन्त्रीसहित एमालेका चार, माओवादी केन्द्रका दुई र राप्रपाका एक मन्त्री छन्।

कांग्रेस संसदीय दलका नेता पाण्डेले आफूहरू माओवादी निर्णयको पखाईमा रहेको बताए। ‘पहिले माओवादीले सरकार छोड्नुपर्यो, समर्थन फिर्ता लिनुपर्‍यो’, उनले भने, ‘त्यसपछि मुख्यमन्त्रीसँग दुई वटा विकल्प बाँकी रहन्छन्, कि राजीनामा दिने नत्र ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।’

विश्वासको मत पाउन नसक्ने स्थितिमा मुख्यमन्त्रीले राजीनामा दिनु उत्तम हुने नेता पाण्डेको भनाइ छ। राजीनामा नदिएको खण्डमा संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्ने उनले बताए ।

संविधानले नै एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेपछि प्रदेशसभाको विशेष अधिवेशन डाक्नुको औचित्य नरहने नेता पाण्डेले उल्लेख गरे ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा पनि स्वाभाविक रुपमा पर्ने बताए ।

‘सङ्घ सरकारबाट हटे पनि प्रदेशबाट एमाले हटेको छैन, तर यो अवस्था अब धेरै दिन रहँदैन’, उनले भने, ‘हामी पनि केन्द्रको निर्देशन कुरेर बसिरहेका छौँ, माओवादीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि स्वाभाविक रुपमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ।’

नेता चुमानले दुई पटक एमाले र एक पटक कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले भूमिका खेलेको भन्दै अबको मुख्यमन्त्रीमा आफूहरूको दाबी रहने बताए।

‘माओवादीले मुख्यमन्त्री पाउनुपर्छ, यो स्वाभाविक दाबी हो, यसपाली कांग्रेसले हामीलाई सघाउनुपर्छ’, उनले भने, ‘आलोपालो नेतृत्वमा जाँदा पछि कांग्रेसले पाउँछ, अहिले माओवादीलाई दिनुपर्छ।’

गण्डकी प्रदेश सरकारको नेतृत्व लिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कुरा राखेको नेता चुमानले बताए। ‘सरकारलाई विधि र प्रणालीमा चलाउन हामी सक्षम छौँ, मुख्यमन्त्रीको नेतृत्व लिन म तयार छु”, उनले भने।

उता नेपाली कांग्रेस पनि पहिले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्यमा रहेको छ। २७ सदस्यसहित कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । कांग्रेस संसदीय दलका नेता पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताए।

‘सरकारको नेतृत्व कांग्रेस र माओवादीले आलोपालो गर्ने गरी ठोस सहमति त भएको छैन, तर आलोपालो हुन सक्छ’, नेता पाण्डेले भने । उनले पहिलो चरणमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने र त्यसपछि माओवादी पार्टीसँग आलोपालोको सहमति हुनसक्ने बताए।

हालै सम्पन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गत मङ्सिरमा सम्पन्न भएको आमनिर्वाचनमा गठबन्धन गरेका दलहरुबीचको समीकरण ब्यूँतिएपछि यसको प्रभाव सङ्घीय सरकारमा परिसकेको छ।

सङ्घीय सरकारबाट एमाले बाहिरिएको छ भने नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सत्तारोहणको तयारीमा छन्।

अब यसका प्रभाव देशका प्रदेश सरकारमा पनि पर्ने देखिएको छ । सोहीबमोजिम गण्डकी प्रदेश सरकारमा पनि परिवर्तनको सङ्केत देखिएको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार