काठमाण्डौंः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार फेरि विश्वासको मत लिँदैछन् । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पुस १० गते एमालेसहितको गठबन्धन बन्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जनाको सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका हुन् । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु परेको हो । कर्णालीमा कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विषयमा कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा हाल दुई दल मिलेर सरकार चलाइरहेका छन् । सत्तामा एमालेबाट आर्थिक मन्त्रीमा विनोद शाह, सामाजिक विकासमन्त्रीमा टेकराज पछाइ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा जितबहादुर मल्ल छन् । एमाले सत्ताबाट नबाहिरिएको र कांग्रेसले आफूले नेतृत्व गर्न पाउनु पर्ने तर्क गर्दा राजनीतिक समीकरण कस्तो बन्छ भन्ने शुक्रबार नै तय हुने देखिन्छ । एमाले सरकारमै भएकाले अहिले नै विश्वासको मत दिँदैनौं भन्न नमिल्ने बताउँछ । तर संसदीय दलको बैठकपछि मात्रै अन्तिम निर्णय लिने मोडमा भने एमाले देखिन्छ ।
एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्ने मनसायमा मुख्यमन्त्री शर्मा देखिँदैनन् । यही सरकारलाई अघि बढाउने र कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर कर्णालीको प्रतिपक्षको रुपमा रहँदै आएको गरिबी, अविकास, विकटतालाई अन्त्य गर्न दलहरु एक ठाउँमा उभिनुपर्ने तर्क मुख्यमन्त्रीको छ । कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् । प्रदेशसभा बैठक शुक्रबार दिउँसो ३ बजे बस्दैछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया