काठमाण्डौः निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचन खर्चको विवरण पेश नगर्ने ७४ जनाको नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार निर्वाचन खर्चको विवरण तोकिएको समयभित्र पेश नगर्ने ३७ जना प्रतिनिधिसभाका र ३७ जना प्रदेशसभाका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो ।
आयोगको विवरण अनुसार प्रतिनिधिसभामा भाग लिएर निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेमा सवैभन्दा बढी २२ जना स्वतन्त्र उम्मेदवार छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जका ३ जना, जनता समाजवादी पार्टीका २ जना रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, जनता प्रगतीशिल पार्टी नेपाल, नेपाल जनता पार्टी, नेपाली जनता दल, नेपाल सदभावना पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेश्नल अर्गनाइजेसनका एक-एक जना उम्मेदवार रहेका छन् ।
आयोगका अनुसार प्रतिनिध सभाका दुई हजार तीन सय ७३ जना उम्मेदवार र प्रदेश सभाका ३ हजार एक सय १८८ जना उम्मेदवारसहित जम्मा पाँच हजार पाँच सय ६१ जना उम्मेदवारलाई निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नका लागि निर्देशन पनि दिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्ने कानूनी व्यवस्था छ ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया