वैशाख ११, २०८१ मंगलबार April 23, 2024

प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछः परराष्ट्रमन्त्री साउद

भ्रमणमा भएका सबै सम्झौता पूर्ण कार्यान्वयन हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन्। प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ। भ्रमणको बारेमा जानकारी दिँदै उनले सरकारले भारतसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भएका सबै सम्झौता पूर्ण कार्यान्वयन हुने दाबी गरे।

‘कमिटमेण्ट आउने, कार्यान्वयनको पक्ष कमजोर हुने पक्ष कुनै न कुनै रूपमा दुवै पक्षबाट यस्तो भइरहेको छ भन्ने अनुभव छ,’ उनले भने, ‘जुन एजेण्डा हामी अगाडि बढाउँदै छौँ, ती एजेण्डाको कार्यान्वयन हुनेछ।’ प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनको भनाइ थियो। उनले भ्रमणका क्रममा ब्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाए। उनले भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने बताए।

‘हामीले यो भ्रमणमा ट्रेड, ट्रान्जिट,कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दाहरुलाई अगाडि बढाउनेछौँ,’ उनले भने, ‘भ्रमणको मुख्य एजेण्डा नेपालमा पावर उत्पादन गर्ने, जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने, एलोसीबाट ट्रान्समिशन लाइन बनाउने, नेपाल-भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने र भारतीय ग्रिट र ट्रान्समिशनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत निर्यात गर्नुपर्ने जस्ता महत्वपूर्ण कुरा यसमा सामेल छन्।’

भारतीय भूमी प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने विषयमा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको जानकारी उनले दिए। प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने जानकारी उनले दिए।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसहित ८८ सदस्य जाँदैछन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया